बेइजिङ । चीनले जनवरी ८ देखि चीन आउने विदेशी पर्यटकलाई क्वारेन्टाइनमा बस्न नपर्ने घोषणा गरेको छ। चीनले आफ्नो शून्य कोभिड नीतिलाई खुकुलो पार्दै यो कदम चालेको हो।
चीन सरकारले विगत केही दिनदेखि लगातार कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो पार्दै आएको छ। यसैबीच चीनमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ।
स्वास्थ्य क्षेत्रका कर्मचारीले बदलिँदो परिस्थितिलाई सम्हाल्न निकै चुनौतीको सामना गरिरहेको बताएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले यस विषयमा आफ्ना अधिकारीहरूलाई जीवन बचाउनका लागि सक्दो प्रयास गर्न आग्रह गरेका छन्।
यससँगै चीनको आधिकारिक मिडियाका अनुसार जिनपिङले बदलिएको परिस्थितिसँग जुध्न थप प्रभावकारी उपायहरू आवश्यक रहेको बताएका छन्।
चीनले विगतमा कोविडसँग सम्बन्धित डाटा जारी गर्न रोकेको छ। तर चीनमा हरेक दिन हजारौं मानिसको ज्यान जाने डर छ। सन् २०२० को मार्च महिनापछि चीन आउने सबै विदेशी यात्रुलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको थियो। बीबीसी







