काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा, समूह र तहका १२४ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयले कात्तिक १२, १७ र २७ तथा मंसिर २, ३ र ४ गते गरेका विभिन्न १० निर्णयमार्फत प्रमुख प्रशासकीय अधिकृत, उपसचिव, प्रमुख नापी अधिकृत, शाखा अधिकृत, मालपोत अधिकृत, नायब सुब्बालगायत कर्मचारीको सरुवा तथा कामकाजमा खटाएको हो।
प्रशासनलाई प्राप्त मन्त्रालयको विवरणअनुसार कात्तिक १२ गते ७ जना, कात्तिक १७ गते १४ जना र कात्तिक २७ गते २ जना कर्मचारीको सरुवा गरिएको छ। त्यसैगरी मंसिर २ गते ६ जना, मंसिर ३ गते ४८ जना र मंसिर ४ गते ४७ जनाको सरुवा तथा कामकाजमा खटाउने निर्णय भएको छ।
सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीहरूमा संघीय मन्त्रालय, विभिन्न विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, मालपोत तथा नापी कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारी छन्। मन्त्रालयले कतिपय कर्मचारीलाई संघीय निकायबाट स्थानीय तहमा तथा कतिपयलाई स्थानीय तहबाट सङ्घीय निकायमा सरुवा गरेको छ।
त्यस्तै, केही उपसचिव तथा शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने गरी कामकाजमा खटाइएको छ। विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई अन्य स्थानीय तह तथा संघीय निकायमा सरुवा गरिएको छ।
नापी सेवातर्फ प्रमुख नापी अधिकृतहरूको सरुवा गर्नुका साथै केहीलाई मन्त्रालयको अतिरिक्त समूहमा राखेर विशेष नापी कार्यालयहरूमा काजमा खटाइएको छ। प्रशासन, इन्जिनियरिङ, शिक्षा तथा विविध सेवाका कर्मचारीसमेत सरुवा तथा कामकाजमा खटाउने निर्णयमा समेटिएका छन्।
हेर्नुहोस्, सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीको पूर्ण विवरण :






