काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन् सोङ्गले नेपाल र चीन दुई देशका नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।
नेपालका लागि चीनका २२ औँ राजदूतका रूपमा काम गर्न आइतबार काठमाडौँ आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि दुई देशबीच हार्दिक सम्बन्धको विकास गर्न चीन सधैँ इच्छुक रहेको बताए । उनले नेपालमा सबैसँग मिलेर काम गर्न चाहेको पनि धारणा राखे ।
‘नेपालमा रहँदा सबैसँग निकट सम्बन्ध बनाउँदै दुवै देशका नागरिकको लाभका निम्ति काम गर्नेछु’, उनले भने, ‘मेरो कार्यकालमा मैले चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ अध्याय थप्ने गरी भूमिका खेल्नेछु ।’
यसअघि राजदूत होउ यान्छीका पालामा नेपालमा चीनले आन्तरिक राजनीतिमा खेल्न खोजेको भनेर आलोचनासमेत भएको थियो । २०७४ सालको निर्वाचन र त्यसपछि बनेको नेकपा एमाले र माओवादी केन्द्रको सरकार निर्माण र दुई पार्टीको एकतामा चीनको महत्त्वपूर्ण भूमिका रहेको आरोपसमेत लागेको थियो ।
चीनको कम्युनिस्ट पार्टी र त्यसका नेता सी जिनपिङ विचारधाराको विषयमा तत्कालीन एकीकृत पार्टी नेकपाले आफ्ना कार्यकर्तालाई प्रशिक्षण समेत दिएपछि थप चर्चाको विषय बनेको थियो ।
नयाँ राजदूत छेनले दुवै देशमा राजनीतिक दलका महाधिवेशन र आम निर्वाचनमार्फत नयाँ नेतृत्व आएको भन्दै यसले नेपाल र चीनको पुरानो मित्रतामा सहकार्यको नयाँ आयम थपिने बताए । उनले सार्वभौमिकता, राष्ट्रिय अखण्डताको रक्षा, आन्तरिक र बाह्य सहकार्यका विषयमा समेत चीनले नेपाललाई दृढतापूर्वक सहयोग गर्ने बताए ।
नवनियुक्त राजदूत छेन् यसअघि चिनियाँ विदेश मन्त्रालयको एसिया विभागका उपमहानिर्देशक थिए । उनी चीनको विदेश मन्त्रालयअन्तर्गत रहेको एसिया मामिला विभागमा रहेका पाँच जना उपमहानिर्देशकमध्ये एक थिए । उनले नेपाल र अफगानिस्तानसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेका थिए ।
नेपालका लागि चीनकी पूर्वराजदूत होउ यान्छीले सन् २०१८ को डिसेम्बरदेखि चार वर्षसम्म नेपालमा राजदूतका रूपमा काम गरेकी थिइन् । उनको कार्यकालमा सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्नुका साथै केही विकास साझेदारीमा हस्ताक्षर भएको थियो ।