काठमाडौँ । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोली ‘फिल्ड सर्भे’का लागि रसुवागढी पुगेको छ । चीनबाट आएको टोली रेल्वे विभागका महानिर्देशक रोहित बिसुरालसहितको संयुक्त टोली सर्भेका लागि रसुवागढी पुगेको हो ।
विभागका महानिर्देशक बिसुरालका अनुसार टोलीले स्याफ्रुबेसी, धुन्चे र रसुवागढीलगायतका ठाउँमा सर्भे गर्नेछ । टोलीमा विभागका सूचना अधिकारीसमेत रहेका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारलगायतका अधिकारी पनि सहभागी छन् ।
पुस १२ गते सम्भाव्यता अध्ययनका लागि काठमाडौँ आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । टोलीले तीन हप्तासम्म नेपाल बसेर फिल्ड सर्भे गर्ने छ । त्यसपछि करिब डेढ महिनाका लागि चीन फर्कने छ ।
चीन र नेपालको संयुक्त टोलीले फिल्ड सर्भे गरेर आएपछि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा छलफल गरिने महानिर्देशक बिसुरालको भनाइ छ ।
यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएकाले अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुङ्गिने छ । २०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौँसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्ने छ । जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चले गर्ने छ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।







