काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन जिल्ला समितिका सभापतिबाट राजीनामा दिएका धर्मेन्द्र सापकोटाले पार्टी पंक्तिमा भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ । जिल्ला सभापतिबाट राजीनामा दिएपछि विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति रास्वपाले आपत्ति जनाएको हो ।
पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सापकोटाले प्रतिनिधिसभाको निर्वाचनमा निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह नगरी पार्टीको हित विपरीत अनावश्यक अन्तर्वार्ता दिँदै हिँडेको दाबी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह नगरी पार्टीको हित विपरीत अनावश्यक अन्तर्वार्ता दिँदै हिँड्नुभयो । जसका कारणले चितवन क्षेत्र नं. ३ को मत परिणामसमेतमा नकारात्मक प्रभाव पारेको थियो । साथै उहाँ चुनावी अभियानमा संलग्न हुनुभएन भने पार्टी कार्यालय नगई चुपचाप बसी असहयोगसमेत गर्नुभएको थियो ।’
उनले निर्वाचनपश्चात् पनि आफ्नो क्षेत्रका स्थानीय मुद्दाहरू तथा सङ्गठनलाई बलियो बनाउनतर्फ बेवास्ता गरी पार्टीको विधानबमोजिमका हैसियतभन्दा बाहिरका गतिविधिको नेतृत्वसमेत गरेकाले पुस १७ गते स्पष्टीकरण सोधेको विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा आवश्यक छानबिन, अनुसन्धान तथा अन्तिम निर्क्योल नभएसम्म पदीय हैसियतले कुनै पनि गतिविधि, कार्यमा संलग्न नहुनसमेत निर्देशन दिएको रास्वपाले जनाएको छ ।
सापकोटाले पुस २० मा पार्टी कार्यालयमा नै आई आफ्नो स्पष्टीकरण पेस गरेको र २७ गते राजीनामा दिएकाले पार्टीले सदर गरेको विज्ञप्तिमा लेखिएको छ ।








