काठमाडौँ । दोल्ती पावर कम्पनीको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। यस कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपीओ निष्कासन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो।
सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ।
त्यस्तै, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरूको लागि २ लाख ६८ हजार २४३ कित्ता निष्कासन गरेको हो। यसमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
कम्पनीलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ। यसमा बिक्री प्रबन्धकको एनआइसी एसिया क्यापिटलले गरेको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले स्थानीय बासिन्दाले आयोजनाको कार्यालय नौमुले दैलेख, एनआइसी एसिया बैंकको नर्वाचवार कार्यालय दैलेख, ग्लोबल आइएमई बैंकको देवकोटा चोक दैलेख र प्रभु बैंकको देवेन्द्र चोक कार्यालय दैलेख शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, एनआइसी एसिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरेर पनि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।







