काठमाडौँ । कवि तथा गीतकार वसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य (चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता सङ्ग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् ।
आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कुलको सभा हलमा आयोजित एक समारोहकाबीच कवि चौधरीले लेखेको बाल कविता सङ्ग्रह ‘आहाना’ विमोचन गरिएको हो ।
कवि चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बाल कविता सङ्ग्रह प्रकाशन गरेका हुन् । यसअघि उनका २० वटाभन्दा बढी कविता तथा गीतहरूका सङ्ग्रह प्रकाशित भइसकेका छन् । दर्जनौँ चर्चित नेपाली गीतहरूका उनी सर्जक समेत हुन् ।
कवि चौधरी, उनी पुत्री मेघा चौधरी, नातिनी आहाना शाक्य९चौधरी० तथा आहानाका पिता पारस शाक्य र बालबालिकाहरूले बाल कविता सङ्ग्रह ‘आहाना’को सामूहिक लोकार्पण गरेका थिए ।
आकर्षक साजसज्जासहितको रङ्गिन कलेवरमा प्रकाशन गरिएको बाल कविता सङ्ग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । ‘कोपिला किताब’ले प्रकाशन गरेको आहानामा चौधरीका ५६ वटा बालकविताहरु समेटिएका छन् । प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रांकन समेत समेटिएकाले बाल कविता सङ्ग्रह निकै आकर्षक छ ।
कविता सङ्ग्रह विमोचन समारोहमा बोल्दै कवि वसन्त चौधरीले आफू निकै खुसी भएको उल्लेख गर्दै भने–‘यस्तो लागिरहेछ कि वसन्तको आगमन फेरि भएको छ । मन प्रफुल्लित छ ।’
उनले आफ्नी नातिनीलाई सानैदेखि हेरेको र उनको उमेर बढेसँगै आफूले देखेको, भोगेका र नातिनीसँग बिताएका क्षण तथा नातिनीजस्तै भएर लेखिएका कविताहरूलाई सङ्ग्रहको रूप दिएको बताए । कविता सङ्ग्रह आहाना आफ्नी नातिनीको प्रतिबिम्ब समेत भएको उनको भनाई थियो ।
उनले बाल साहित्यको महत्त्वको विषयमा समेत आफ्ना धारणा राखेका थिए । ‘बाल साहित्य मेरो नियमित विधा होइन । यो मेरो पहिलो प्रयास हो ।’ उनले भने –‘मैले विभिन्न देशको भ्रमण गर्दा त्यहाँ बाल साहित्यले हासिल गरेको उचाइ देख्दा डाह लाग्थ्यो । नेपालमा के कारणले बाल साहित्य पछाडि परेको छ, त्यो बुझ्न सकिरहेको छैन ।’
कवि चौधरीले बाल साहित्यले नेपालमा उचाइ हासिल नगरे पनि बाल साहित्यको विषयमा संस्थागत कामहरू भएका भन्दै त्यस्तो काम गर्ने सबै सर्जकप्रति आभार व्यक्त गरे । ‘लगानी गरेर बाल साहित्य वा कृति प्रकाशन गर्दा रिटर्न आउँदैन ।’ उनले भने–‘तर बाल साहित्यलाई व्यापार भन्दा पनि एउटा आन्दोलनको रूपमा लिनुपर्छ ।’
बालबालिकालाई रचनात्मक कुराहरू कविता र गीतबाट सिकाउन सकिए त्यसले निकै ठूलो परिवर्तन गर्ने र बाल मानसपटलमा सिर्जनात्मक कुराहरूको बास हुने उल्लेख गर्दै विश्वभर शिक्षामा परिवर्तन भइरहँदा नेपालमा पनि हुनुपर्ने र सिकाइको माध्यमको रूपमा कविता र गीतहरूलाई पनि समावेश गरिनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा बोल्दै स्कुलकी डाइरेक्टर पवित्रा लिम्बूले कवि वसन्त चौधरीले आफ्नी नातिनीलाई जन्मदिनको दिन विशेष गिफ्ट दिएका उल्लेख गर्दै भनिन्–‘हजुर बुबाबाट यस्तो गिफ्ट आयो कि सबैलाई बाँड्न मिल्ने १ अब आजदेखि वसन्त चौधरी आहानाको मात्र होइन, देशभरका बालबालिकाहरूको पनि हजुरबुबा बन्नुभयो ।’ उनले चौधरीले नेपालको बाल साहित्यको उन्नयनका लागि निकै ठूलो गिफ्ट गरेको समेत सो क्रममा बताइन् ।
उनले अनाथ बालगृहका बालबालिकाहरूलाई बोलाएर सकेको सहयोग समेत गरी जन्मदिन मनाउनु अनुकरणीय रहेको उल्लेख गर्दै थपिन्–‘यस्तो जन्मदिन आइरहोस् ।’ सो क्रममा आहानाले आफ्नो जन्मदिन अनाथ बालगृहका बालबालिकासँग मनाएकी थिइन् । ती बालबालिकालाई उनले स्कुल ब्याग समेत वितरण गरेकी थिइन् । कार्यक्रममा बालबालिकाहरूले कविता सङ्ग्रहका केही कविता वाचन पनि गरेका थिए ।







