काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको हो ।
आज (सोमबार) सरकारी वकिलको तर्फबाट एक र जाहेरवालाको तर्फबाट चार जनाको बहसपछि इजलासबाटै सुनुवाइ स्थगित भएको जाहेरवालाको तर्फबाट उपस्थित अधिवक्ता शशि अधिकारीले जानकारी दिइन् । जाहेरवालाको तर्फबाट सरकारी वकिल र निजी वकिलहरूले सोमबार दिउँसो साढे २ बजेदेखि ५ बजेसम्म बहस गरेका थिए ।
अब अन्तिम सुनुवाइका लागि फेरि अर्को पेसी तोकिने छ । अर्को पेसीमा पुनः जाहेरवालाकै तर्फबाट बहस सुरु हुनेछ ।
लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटेलमा लगेर पटक-पटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।






