काठमाडौँ । काँग्रेस सांसद डा. शशाङ्क कोइरालाले काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भए पनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन् ।
सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए । पार्टी सभापतिमा देउवा रहेसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने पनि उनको भनाइ छ ।
१५औँ महाधिवेशनपछि मात्रै काँग्रेसबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने कुराको टुङ्गो लाग्ने उनको भनाइ छ । १५औँ महाधिवेशनपछि आफू काँग्रेस सभापति बन्ने सम्भावना बलियो रहेको पनि नेता कोइरालाले बताए ।
‘सम्भवतः नेपाली काँग्रेस र नेकपा एमाले मिल्ने भन्ने कुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ । हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नुपर्ने कुरा छैन । १५ औँ महाधिवेशनपछि मात्रै काँग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्ने कुरा आउँछ । त्योभन्दा अघि देउवाबाहेक अरु सम्भव लाग्दैन । १५ औँ महाधिवेशनपछि मलाई सम्भावना छ पार्टी सभापतिमा देख्ने । एकदम सम्भावना छ । कार्यकर्ताले के भन्छन् त्यसपछि कुरा आउँछ ।’