काठमाडौँ । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भइ काठमाडौँ बस्दै आएकी २७ वर्षीया फुलमाया जिरेललाई प्रहरीले पक्राउ गरेको हो ।
उनले पीडितलाई क्यानडामा होटलमा काम लगाइदिन्छु, महिनाको एक लाख रुपैयाँ कमाइ हुन्छ भन्दै प्रलोभनमा पारेर पटक पटक गरी तीन लाख ७४ हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएकी थिइन् ।
पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो (आइतबार) जिरेललाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयले जनाएको छ ।







