काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख जात्रा मानिने इन्द्रजात्राको अन्तिम दिन सोमबार इन्द्रको विधिपूर्वक पूजा गरिएको छ । जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका छन् ।
हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि सुरु भएको इन्द्रजात्राको छैटौँ दिन महिलाहरूका लागि विशेष मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरूप जाँड र समयबजी खुवाइने प्रचलन छ ।
यसअघि भैरवको मुखबाट निस्किने जाँड पहिले पुरुषले मात्र खान्थे भने अहिले महिलाका लागि छुट्टै दिन तोकिएको हुन्छ । श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरूको ठूलै भीड लाग्ने गर्छ । त्यसैले श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिने गरिएको छ । यसलाई नेपाल भाषामा हाथु हायेकिगु भनिन्छ।
इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ ।