काठमाडौँ । बीमालाई स्वायत्त बन्न नदिएको भन्दै स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरूमा बोर्डका मनोनीत सदस्यहरू डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाईँ भट्टराई र इन्द्रकला राई रहेका छन्। मंगलबार(आज) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई उनीहरूले राजीनामा बुझाएका हुन्।
नौ महिनादेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, गलत मनसायले बीमा कार्यक्रम गिजोल्न कार्यकारी निर्देशक निलम्बन गरेको, आवश्यक जनशक्ति व्यवस्थापन नगरेकोलगायत विषय उठाउँदै उनीहरूले राजीनामा दिएका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेत र सरकार स्वास्थ्य बीमा सक्न लागिपरेको आरोप पनि उनीहरूले लगाएका छन्।
मन्त्री बस्नेतले यसअघि स्वास्थ्य बीमा ऐन विपरीत बोर्डका कार्यकारी प्रमुख डा. दामोदर बसौलालाई स्पष्टीकरण सोधेका थिए र त्यसको १५ दिनपछि मन्त्रिपरिषद्ले बसौलालाई तीन महिनाका लागि निलम्बन गर्दै एक साताभित्र स्पष्टीकरण पेश गर्न भनेको छ।
आठ महिनादेखि अध्यक्षविहीन रहेको बीमा बोर्डमा मन्त्री बस्नेतले हिजो मात्रै मन्त्रालयका गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्यायलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका छन् ।