काठमाडौँ । नेपाली काँग्रेसनिकट ट्रेड युनियन संघअन्तर्गत नेपाल स्वास्थ्यकर्मी सङ्घको वैधानिकता सकिएको भन्दै सदस्यहरूले नयाँ तदर्थ समिति गठनको माग गरेका छन् ।
२०७६ मा सातौँ भएको अधिवेशनबाट चयन भएको नेतृत्वको समय सकिएर गतवर्ष २०७९ साउन ४ गते मातृ पार्टीलाई शुभेच्छुक संस्थाको मान्यताका लागि आह्वान गरिएको र सो मान्यता पत्र प्राप्त भएदेखि २०८० कात्तिक २४ सम्ममा त्यसको अवधि पनि सकिएको भन्दै सदस्यहरूले सो समितिको औचित्य सकिएको ठहर छ ।
जसका कारण सदस्यहरूले नयाँ तदर्थ समितिको गठनको माग गरेका हुन् ।
तदर्थ समितिले यसबीचमा कुनै पनि तहको अधिवेशन गराउन नसकेको र पार्टीले पनि चासो नदिएको र सङ्घको गतिविधि नै शिथिल बनेको तथा वैधानिकतामै प्रश्न उठेको भन्दै नयाँ समिति गठनका लागि पार्टीलाई आग्रह गरिएको एक सदस्यले जानकारी दिए ।
उनीहरूले पार्टीका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, अर्का उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मालगायतलाई निवेदनमार्फत सङ्घको पुनर्गठनको आग्रह गरेका छन् ।
उनीहरूले २०७६ सालमा भएको सङ्घको अधिवेशनले चयन गरेको नेतृत्वले पनि विभिन्न अधिवेशन गर्न नसकेको र गतसाल गठित तदर्थ समिति पनि असफल भइ अवधि सकिएको अवस्थामा नयाँ समिति गठन गर्न माग गरेको निवेदनमा उल्लेख गरेका छन् ।