काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसइईमा चिट चोरिएको विषयको दोष त्यहाँका सिडिओ, एसपी र निरीक्षकले लिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेस प्रदेशका विभिन्न जिल्लामा एसइईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह गरे ।
सरकारले खटाएका प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको उनको भनाइ थियो । सांसद झाले परीक्षालाई आवश्यक पद्धति र कडाइका साथ परीक्षा गर्न आग्रह गर्दै मधेसलाई दोष नदिन आग्रह गरे ।
उनले भने, ‘मधेसले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गर्थ्यो । तर, अहिले मधेस आफैँ एसइई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेको चपेटामा पर्दैछ । यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौँमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेस झरौँ न त्यहाँ बनिहाल्छ । कोही एसइई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा । तर, त्यसको इमेजको कष्ट मधेसले तिरिराखेको छ । त्यो हामीले किन तिर्ने ? किनकि यहीँबाट खटाइएको सिडिओ, एसपी, निरीक्षक सबै अधिकारीहरूले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ । तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरू हुन् । त्यसैले यहाँ सबैको ध्यानाकर्षण गराउन चाहन्छु, मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिइयोस् । आवश्यक विधि, पद्धति र कडाइका साथ परीक्षा गरियोस् । ताकि यसको मूल्य भविष्यमा मधेसले तिर्नु नपरोस् ।’