काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्कको प्रतिस्थापन संस्थाको रूपमा बिमस्टेकलाई नेपालले स्वीकार नगरेको बताएका छन्।
भारतले सार्कलाई बिमस्टेकको प्रतिस्थापन संस्थाको रूपमा अघि बढाउन चाहेको विश्लेषण भईरहँदा उपप्रधानमन्त्री श्रेष्ठको त्यसको खण्डन गरेका हुन्।
उनले नेपाल सार्कलाई निष्क्रिय बनाउन बिमस्टेक चलाउने कुरासँग सहमत नरहेको अडान राखे।
विमस्टेक वडापत्र पारितका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालले कहिल्यै पनि सार्कको प्रतिस्थापन संस्थाको रूपमा बिमस्टेकलाई नलिएको प्रस्ट पारे।
बिमस्टेक सार्कको प्रतिस्थापन नभएको र हुनै नसक्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो । उहाँले सार्कलाई प्रभावकारी बनाउन नेपालले अध्यक्ष राष्ट्रको हैसियतले पहलकदमी लिने सदनलाई जानकारी दिए।
उपप्रधानमन्त्री श्रेष्ठले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रूपमा बुझेर नेपालले सदस्य राष्ट्रको हैसियतले आफ्नो भूमिका निर्वाह गर्ने बताए। मंगलबार प्रतिनिधिसभाले विमस्टेक वडापत्र अनुमोदन गरेको छ।