काठमाडौँ। ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान सुरु गरेको छ । नगरवासीको समस्या र गुनासो सुन्न भन्दै नगर प्रहरी घर घरमा पठाउने अभियान महानगरले थालेको हो ।
नगरवासीका समस्या पहिचान गर्न, जनताले कर तिरे/नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न मद्दत पुर्याउने महानगरका प्रमुख चिरीवाबु महर्जनले जानकारी बताए । यो अभियान देशमै नयाँ रहेको उनको भनाइ छ ।
उनले भने, ‘अहिलेसम्म मबाट जानी जानी गल्ती भएको छैन तर, कतै दायाँबायाँ भएको भए सुधार गर्न सहयोग पुग्छ । महानगरलाई गुनासो सम्बोधन गर्न अभियान सुरु गरेका हौँ।’
घर घरमा नगर प्रहरी अभियानले वडाअध्यक्षहरुलाई पनि सहयोग पुग्ने उनले बताए । यो कार्यक्रमले नगरवासी र नगरपालिकाबीच सेतुको काम गर्ने प्रष्ट पारे ।
हरेक साता नगरप्रमुखलाई जानकारी
घर–घरमा पुगेर संकलन गरिएका गुनासा र समस्याबारे नगर प्रहरीले हरेक साता नगर प्रमुख महर्जनलाई जानकारी गराउनेछ ।
उक्त अभियानमा दैनिक ५० जना नगर प्रहरी खटिनेछन् । तीमध्ये समूह-समूह बनाएर घर–घरमा नगर प्रहरी पठाइने छ । एउटा समूहमा ५ जना नगर प्रहरी रहनेछन् । यसो गर्दा दैनिक ३ हजारभन्दा बढी घरमा नगर प्रहरी पुग्ने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।
नगर प्रहरीले नगरपालिकाका सेवाहरू नगरवासीले लिएर नलिएको बुझ्ने छ भने नि:शुल्क दमकल, ढल निकास, शव वाहन, फुटपाथलगायत सेवाबारे जानकारी गराउने उनले बताए । उनले भने, ‘अभियान १ महिनासम्म रहन्छ, यो अवधिमा सबैको घरघरमा र पसल पसलमा नगर प्रहरी पुग्छ,’ हाछेथुले भने ।
अभियानको उद्घाटन कार्यक्रममा बोल्दै ललितपुरका प्रहरी प्रमुख शेखर खनालले नगर प्रहरीसँग हातेमालो गरेर काम गर्दा सहज भएको बताए ।
उनले नगर प्रहरी सँगसँगै नेपाल प्रहरी पनि खटिँदा शान्ति सुरक्षा कायम गर्न सजिलो हुने बताए । विपद् व्यवस्थापन र वातावरण संरक्षण लगायतका विषयमा उपलब्धिमूलक काम गर्न सकिने बताए । यस अघि महानगरपालिकाले वातावरण प्रहरी गठन गरिसकेको छ ।
उक्त टोलीले वातावरण जोगाउन काम गर्नेछ भने कालो धुवा फ्याँक्ने थोत्रा सवारीसाधनलाई कारबाही गर्ने महानगरले जनाएको छ ।







