जाडोको याम साँझको घाम शीतल पवन
चौतारी थियो पुर्खाको चिनो भुलेको चमन
पिपलु वर ती जीर्ण काया दुःखले अडेका
चिनेका ढुङ्गा भत्केर कठै भुईँमा लडेका
सुस्तरी सोध्यो पिपलु बोट के काम आएको
युगको अन्त्य हेरेर जाऊ कालले खाएको
बाजेको नाम सम्झेर जाऊ आमा र बाबाको
यो सत्य कथा सुनेर जाऊ पिपल वरको
यो कथा होइन । यो गाथा पनि होइन । यो निबन्ध जस्तो निबन्ध पनि होइन । यो कुनै सनसनिखेज अखबारी समाचार पनि होइन । र यो काव्य त हुँदै होइन । यो शोक पनि होइन । यसमा प्रिय स्वजन गुमाउँदाको आर्तनाद छैन । यसमा चीत्कार छ, किन्तु यो युगान्तको समयमा कसैको सहयोगको भरोसा छैन । यो एक विरहले भरिएको बिदाइको वर्तमान हो । एक युगान्तको संक्रमणकालीन दर्दको वृत्तान्त ।
यो पढेर धर्म हुँदैन । यसमा कुनै परमार्थ तत्त्वको विवेचना छैन । यहाँ शब्दका बुट्टा र बान्कीमा कमजोरी होलान् । परन्तु चौतारी संस्कृति देखेका र भोगेका अनुभवी पाठकलाई ‘ए हो त नि’ भनेर क्षणभरका लागि महसुस गराउने एक उपहार हो यो । कोमल भावले वर र पिपलको सम्झनामा टक्र्याएको सानो प्रसाद ।
उहिल्यैको कुरा हो । एउटा वैवाहिक समारोह चलिरहेको थियो । वर दुलहा र पिपल दुलही बनेर सिँगारिएका थिए । कुनै धर्मभीरु र उपकारी दम्पतीले पिपलको कन्यादान गरेर वरलाई दिए । वरले सहर्ष पिपलको पाणिग्रहण गर्यो । केही नरनारीले वर र पिपलको गोडा धोए । गोडधुवामा कसैले चौतारी चिनिदियो । कसैले दुबो रोपिदियो । कसैले बारबन्देज गरिदियो । कसैले ढिस्को खुर्केर समतल बनाइदियो । कसैले चौतारीको निरन्तर सम्भार गरेर सेवा पुर्याइरहने प्रण गर्यो । मानिसहरूले मोहनभोग , खिर र सेलको प्रसाद खाए । विवाह समारोह सम्पन्न भयो ।
पण्डितजीले बर पिपलको विवाहको माहात्म्य सुनाए । चौतारी र त्यसको संरक्षणबारे सारगर्भित प्रवचन दिए । ‘साधारण बटोहीका लागि बर पिपलको शीतल सान्निध्य प्रेरणादायी छ । असाधारण पाण्डित्यका लागि दयालु छहारीमा दीक्षान्त छ । लेखक र कविका लागि पिपलु पातको मधुर सुसेली छ । प्रेमी र प्रेमिकाका लागि अमरापुरीमा झैँ नरम दुबो र घाँसको कोमल अभिनन्दन छ । बुद्धत्व प्राप्त गर्न चाहनेका लागि पिपलको वृक्ष बोधगया हो । माइतीबाट फर्कने चेली घर पुग्ने बेला सुस्ताउने थलो हो चौतारी । चौतारी घरबाट माइती जाने चेलीका लागि प्राणदायी शीतल पवनको स्रोत हो । भारी बिसाएर टोपीले पसिना पुछ्ने भरियाका लागि उपकारपूर्ण सहानुभूति हो ।
वरको वृक्षलाई अक्षय पनि भनिन्छ । भनिन्छ, वट वृक्षको अर्चना गर्दा सावित्रीका मृत पति सत्यवानलाई पुनर्जीवन प्राप्त भएको थियो । वरको मूलमा ब्रह्मा , मध्यमा जनार्दन र माथितिर देवाधिदेव महादेवको वास हुन्छ रे । ‘वटमूले स्थितो ब्रह्मा, वटमध्य जनार्दन: वटाग्रे तु शिवो देव सावित्री वटसंश्रिता ।’ यही अक्षय वटको पत्रपुटकमा बसेर प्रलयकालका बखतमा भगवानले मार्केण्येय ऋषिलाई दर्शन दिनुभएको थियो ।
करारविन्देन पदारविन्दं
मुखारविन्दे विनिवेशयन्तम्
वटस्य पत्रस्य पुटे शयानं
बालं मुकुन्दं मनसा स्मरामी
चौतारी तमाम परोपकारी र धर्म भीरुहरूका निमित्त आस्थाको सदरमुकाम थियो I यही आस्थाले नै चौतारीको निर्माण, संरक्षण र सम्भारमा प्रेरित गर्दथ्यो । धार्मिक मान्यता नदिनेका लागि पनि चौतारी सामाजिक कर्तव्य बोधको एक विम्ब थियो । गीतामा भगवान् कृष्णले आफ्ना विभूतिहरूको वर्णन गर्दै भनेका छन्, ‘वृक्षमा म पिपल हुँ I’ तपस्वी राजकुमार सिद्धार्थले पिपलको वृक्षमुनि ध्यानमग्न बसेको अवस्थामा ज्ञान प्राप्त गरेका थिए I
ती कुरा अब जो व्यतीत भयो, त्यो अतीत भयो जस्तै भए । पिपललाई जल चढाए धर्म हुन्छ भन्ने मान्यता तुरुक्क पानी चुहाएर कर्मकाण्ड पूरा गर्ने प्रयोजनका लागि स्थापित भएको होइन । जल चढाउनुको अर्थ त्यहाँ आश्रय लिन आउने चराचुरुङ्गी, पशु र शीतलमा सुस्ताउन आउने ढाक्रे एवं बटुवाको जलपानका लागि थियो । अचेल चौपारीमा बस्न कोही आउँदैन । कुनै प्रकारको मर्मत सम्भार पनि हुँदैन । चौतारीमा जताततै काँडा उम्रेको देखिन्छ ।
केही वर्ष अघिसम्म चौतारीमा मानिस आएर बस्थे । कुरा गर्थे । पूजा गर्थे । ग्रह कटाउँथे । देवता मनाउँथे । कचहरी गर्थे । बटुवा वास बस्थे । गाँजाका अम्मलीले गाँजा तान्थे । व्यभिचारीले व्यभिचार गर्थे । मिलनको इच्छा हुनेले मिलन गर्थे । जोडीलाई धोका दिएर अर्कोसँग भाग्ने भगाउनेले त्यहीँ बसेर कुरा मिलाउँथे ।
त्यहीँ भेटघाट गरेर चोरहरूले चोरीको सल्लाह गर्थे । जँड्याहाले छहारीमा सुस्ताउँदै मद्यपान गर्थे । लमीले केटी माग्थे । केटी हेर्नेले केटी हेर्थे । जन्तीले जन्ते बाख्रो खान्थे । त्यहीँ कति कामासक्तले कामेच्छा पूरा गरे I त्यहीँ नै कतिपय भूमिगत वामासक्तहरूले गोप्य बैठक गरे । सबैको साझा थलो थियो चौतारी I
चौतारीमा मानिस नभएको मौका पारेर बाघ आएर सुत्थ्यो । बिहानीपख त्यहीँ उभिएर स्याल कराउँथ्यो । निहायत कङ्गाल फिरन्ताहरू त्यही छहारीमा रात काट्थे । त्यहीँ शिशु जन्मन्थ्यो माघ महिनामा खुला आकाशमुनि । तीज गीत गाउँथे चेलीहरू । त्यहीँ झगडालुहरू चुल्ठो तानातान गर्थे । कुराले उठाउने,उडाउने, खसाउने र लडाउने थलो हुन्थ्यो चौपारी । गाइनेले देश देशावरका खबरका गीत गाउँथे । अक्षर चिन्नेले त्यहीँ छहारीमा बसेर लाहुरेकी आमालाई रणमा परेको छोराको चिठ्ठी पढेर सुनाउँथे ।
चौतारी एउटा सङ्गम जस्तो थियो । दुःखमा पनि र सुखमा पनि । पिपलमा नयाँ मञ्जरी पलाए झैँ छहारीमा बस्न आउने पात्रहरू पनि फेरिन्थे । एउटा अविरल सिलसिला थियो पात्रको परिवर्तन । मनको मैलो फाल्ने मुकाम थियो चौतारी । मायालुहरू पिपल साक्षी राखेर अटल प्रेमको प्रतिज्ञा गर्थे । पिपलले कसैको कुरो नकाट्ने हुँदा सबैको प्रिय थियो । आज पिपल तनाहा र परित्यक्त छ । काँडा र झाडीको कैदमा छ चौतारी । त्यहाँ गीत छैन, सङ्गीत छैन । आज चौतारी मोटरले उडाएको धूलोले पुरिएको छ । आज पिपल धर्म जोगाउने नाममा घर घर र आँगन आँगनमा गोल्टिनको बट्टामा कैद छ । कुनै सायरले क्या खुब लेखेछन् –
‘पानी देते कुछ हाथ भी थे बूढा पीपल निस्तेज न था
अब तो हर तरफ देखो लालच की आग बरसती है
कोमल नाजुक सी शाखाएँ अपनों के हाथ झुलसती हैं
वो छाया देने वाला खुद अपनी छाया से लज्जित है I’
वरका सबैजसो हाँगा मरेर गए पनि एउटा प्रेमी हाँगो भने जिउँदै छ । पिपललाई अङ्कमाल गर्न खोजे झैँ जीवन्तताहीन बरा तेर्सो हाँगो गतिशील रहेको अभिनय गरिरहेछ । त्यही हाँगाको शीतल छहारीमा एक जना किशोर भाते निद्रामा सुस्ताउँदै छ । टिप्परको परिचारक रे ऊ । थकाइले श्रान्त किशोर धुलिरम्मे घाँसमा लम्पसार छ । ड्राइभर साहेब रोकेर राखेको टिप्परभित्रै छन् रे । यौवनोन्मुख परिचारक आधा आँखा खोलेर टिप्परतिर हेर्छ । माथि हाँगामा जुरेलो र जुरेली चिरिबिराउँदै छन् । कहिले यो पातमा लुक्दै त कहिले त्यो पातमा । परिचारकलाई रोमाञ्च भए झैँ भयो । आजै गुरुजीले अर्की गुरुमा ल्याएका छन् ।
वर पक्षाघातले पीडित छ । उसलाई आफ्नो वरिपरि के भइरहेको छ भन्ने पनि पत्तो छैन । पिपल थोरै होसियार छ । ऊ हेरिरहेछ टिप्परलाई । टिप्पर मन्द मन्द हल्लिरहेको छ । परिचारकलाई थाहा छ , यस्तो कुरा केही पनि नदेखे झैँ चोर आँखाले हेर्नुपर्छ । ऊ मोहनी आवाजमा गुरुजी बोलेको सुन्छ । ‘अर्को पटक आउँदा सँगै लिएर जान्छु । विद्या कस्सम !’ यस्ता हजारौँ दूषित कसम सुन्ने बानी परेका परिचारक र पिपललाई गुरुजीको कुरामा रत्तीभर विश्वास छैन ।
सायद यो बर पिपलको जोडी चौतारी सभ्यताको अन्तिम साक्षीमध्ये एक हो । सायद अब छिट्टै हजारौँ वर्षदेखि अविरल चलायमान चौतारी संस्कृतिमा विराम लाग्नेछ । हरेक सभ्यताको आयु हुन्छ । चौतारी सभ्यताको आयु पनि समाप्तिको चरणमा छ । आफ्नो प्रभुत्वमा पूर्णविरामको संकेत बुझेको छ पिपलले । लहलहाएको बनमाराको फुर्ती देखेको चौतारीले पनि अवसानको संकेत पाइसक्यो ।
अब विद्रोहले काम दिने छैन । अब ग्रहदशाको भयले पनि काम दिने छैन । अब स्वर्ग र नरकको चेतावनीको जमाना सकियो । मानिसहरू ‘मसँग भगवानको भिजिटिङ कार्ड छ’ भनेर सेखी गर्न थालिसके । पिपलतर्फ हात बढाएको प्रतीत हुने वरको निरालम्ब जीर्णशीर्ण हाँगो झुलिरहेछ शून्यमा । यो स्मार्ट जमाना हो । समयले स्वर्ग, नरक, पाप र धर्मलाई समेत हाइटेक बनाइसक्यो । भूत, प्रेत र पिशाच भनिने बीभत्स योनीहरू पनि सहरतिर बसाइ सरिसके I
बर पिपलका जोडीले आफ्नो छायामुनि धेरै जमघटहरू देखे । राजाका , राणाका , रङ्कका, जोगीका, भोगीका, रोगीका र रूपको व्यापारका । उनीहरूले मानिसलाई रतन्धो, मलेरिया, ,खोकी, कमलपित्त, दम, सर्दी र शिर दर्दका औषधीहरू आजीवन नि:शुल्क बाँडिरहे । पात, जरा, बोक्रा र मुजुरारूपी औषध प्रदान गरेर आर्तका दर्द र घाउलाई निको पारिरहे ।
सुकेनासले ग्रस्त वर रनभुल्ल छ । आज एक युगको इतिश्रीको तमासा हेरिरहेछ ऊ । आज पिपल पनि चुपचाप छ । परन्तु नियतिको निर्णय बुझेको ऊ शोकमग्न छैन । सायद ऊ मनमनै सोच्दै होला , ‘वासुदेव कृष्ण त स्वधाम गमनको बखतमा आफ्नै बन्धुबान्धब आपसमा काटाकाट गरेको बीभत्स दृश्य हेर्न विवश भएका थिए भने म त फगत एक वृक्ष मात्र हुँ ।’ पिपल आफ्नो विगतप्रति सन्तुष्ट छ । उसले आफ्नो भागको भूमिका राम्रो गरी निर्वहन गरिसक्यो । धेरै धेरै पिपलहरू मरेर गए । धेरै धेरै चौतारीहरू च्यातिए । धेरै धेरै कथा र गाथा दाउरा बनेर डढे । तर पिपलको कीर्ति अद्यापि जीवन्त छ ।
मानिसहरू चौतारीमा कचहरी गर्दै देश र परदेशका कुरा गर्थे I जात, भात र धर्मका कुरा गर्थे I अहङ्कार र अभिमानका कुरा गर्थे I अनुराग, अभिशाप र उपहासका कुरा हुन्थे त्यहाँ I त्यहाँ सत्य, परोपकार र करुणाका कुरा पनि हुन्थे I अनेक जायज र नाजायज घटना भए चौतारीमा । परन्तु चौतारीले कहिल्यै कसैलाई विभेद गरेन । शीतल छाया मात्र होइन, पिपलले उत्सर्जन गर्ने प्राणवायु समेत सबैले बराबर पाए I
‘सत्यम् शिवम् सुन्दरम्’को सन्देश दिनु थियो, दिइसक्यो । निष्काम छहारीको सच्चिदानन्द चिनाउनु थियो, चिनाइसक्यो । निश्छल र निर्मल शीतल छरेर तप्त हृदयहरूलाई शान्त पार्नु थियो, पारिसक्यो । थाकेका ढाक्रे र चेलीबेटीका आँसु र पसिना पुछ्नु थियो, पुछिसक्यो । चेतनाका अनेक सन्देश दिनु थियो, दिइसक्यो ।







