काठमाडौँ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ ।
गणतन्त्रका योद्धा रामराजाप्रसाद सिंहको स्मृतिमा स्थापना हुन लागेको यस प्रतिष्ठानले मधेस प्रदेशको स्वास्थ्य सेवा र शिक्षामा गुणात्मक परिवर्तन ल्याउने अपेक्षासहित सांसदहरूले यसलाई समयसापेक्ष कदम भनेका छन् ।
छलफलमा भाग लिँदै सांसदहरूले यस परियोजनालाई मधेसको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण माध्यमका रूपमा अर्थ्याएका छन् । सांसद रमेशकुमार मल्लले यसलाई भवन वा संरचनाको विकासमा मात्र सीमित नराखी दक्ष जनशक्ति उत्पादन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले गजेन्द्रनारायण सिंह अस्पताललाई प्रतिष्ठानको अस्पतालका रूपमा सञ्चालन गर्दा हुने व्यवस्थापनका चुनौतीतर्फ सचेत गराउँदै बर्दिबास मेडिकल कलेजको कामलाई पनि सँगसँगै अगाडि बढाउन आग्रह गरे ।
सांसद आशा झाले यस प्रतिष्ठानको स्थापनाले मधेस र कोशी प्रदेशका साथै सीमावर्ती भारतीय नागरिकका लागि समेत स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरिन्। करिव ३० अर्ब लागत अनुमान गरिएको यो परियोजनाले दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्था बन्ने लक्ष्य राखेको भन्दै उनले विधेयक छिटो पारित गर्न माग गरिन् ।
सांसद युवराज दुलालले संघीयताको मर्म अनुरूप प्रादेशिक सन्तुलन कायम गर्न यस्ता विशिष्टीकृत स्वास्थ्य संस्थाको आवश्यकता रहेको औँल्याए । उनले प्राज्ञिक स्वायत्तता र न्याम्स जस्ता संस्थाहरूमा देखिएको दोहोरो शासनको समस्याबाट मुक्त गराउँदै प्रतिष्ठानलाई प्रशासनिक चुस्तता दिनुपर्ने सुझाव दिए। सांसद प्रमीला कुमारीले प्रतिष्ठान स्थापनाको उद्देश्य सकारात्मक भए पनि उत्पादित स्वास्थ्यकर्मीलाई स्वदेशमै टिकाउनु ठूलो चुनौती रहेको बताइन् ।
उनले भनिन्, ‘दक्ष जनशक्ति विदेश पलायन हुने समस्या रोक्न स्वास्थ्य शिक्षा र रोजगारीबीचको तादाम्यता मिलाउनुपर्छ ।’
छलफलमा सहभागी सबैजसो सांसदहरूले प्रतिष्ठानलाई गुणस्तरीय स्वास्थ्य सेवा र अनुसन्धानको वास्तविक थलो बनाउन जोड दिँदै विधेयकको सैद्धान्तिक पक्षमा समर्थन जनाएका छन् ।



