काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बैंक पौष १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ औँ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ ।
१८औँ वार्षिकोत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दैछ ।
उक्त सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ सेवा, डिजिटल/नवीनतम बैंकिङ सेवाहरू, बैंकिङ विवरण सुरक्षित राख्ने उपायहरू लगायत विभिन्न बैंकिङ शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।