काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सोमबारदेखि आवासीय सुविधा दिने भएको छ ।
यसका लागि सोमबार बिहानदेखि पशुपति क्षेत्रमा आएका साधु सन्तको गणना सुरु गरिएको संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए ।
उनका अनुसार, महाशिवरात्रिमा यहाँ आउने साधु सन्तका लागि फागुन कृष्ण एकादशीदेखि संस्थानले बस्ने, खाने र धुनी जगाउन दाउराको व्यवस्था गर्ने परम्परा छ । यसरी राखिएकालाई संस्थानले फागुन कृष्ण औँसीका दिन स्तरअनुसार दक्षिणासहित बिदाइ गर्ने परम्परा पनि छ । महाशिवरात्रिका लागि मित्रराष्ट्र भारतबाट हजारौँ साधु सन्त आउने गरेका छन् ।
यस वर्ष भारतको प्रयागराजमा जारी कुम्भ मेलाका कारण त्यता स्नान गरी भक्तजन यता पनि बढी नै आउने अनुमान गरिएको छ ।