हामी संकल्पित छौ
यात्रा विमुख नहुने गरी
यात्रारम्भ देखी अन्त्य सम्म एक नाशले ।
हामीहरू छाती माथि हातहरू राख्दै
संकल्पित मनहरूकै फाँट बाट
पंक्ति बद्ध भएर हिँड्ने यात्री
अलिकति विचार प्रवाह गर्दै
अलिकति सिद्धान्तको खेती गर्दै
नयाँ युगको सृजना गर्न
पहाडबाट तराई ओर्लर्दै
तराईबाट पहाड उक्लँदै
हिमालका काखहरूमा लुटपुटिएर
अविरल यात्रामा जुटेका हामी
यात्राबाट विमुख हुनु हुँदैन
हामी यात्रीहरू हौ
उद्देश्य प्राप्त नगरी
यात्रा बाट फर्कन मिल्दैन ।
हामीहरू सिर्जनशील दिमाग बोकेर
फूलहरुले फुल्न पाउनै पर्ने आव्हानका साथ
कतै जुलुसमा अनुवाद भएर
कतै हड्तालमा सामेल भएर
विश्वासका हिमचुलीहरू उक्लन
सयौँ कुइनेटोहरु पार गर्दै
हामी अविरल यात्रामा छौ
हामीलाई नरोक
हामी क्षितिज चुम्न चाहान्छौँ ।
आकाशमा कालो बादलका धब्बाहरू देखेर
सडक पेटिमा कलिला नानीहरूको भीड देखेर
अनिकालले ग्रस्त बस्तीहरू बाटै
न्यानो सद्भाव र माया बोकेर
एउटा मुक्ति युद्धको खोजीमा
विषालु सर्पहरूकै साम्राज्य अगाडि
आफ्ना आवाजहरू बुलन्द पार्दै
रगत पोतेर सडकमा
स्वतन्त्रताका बिगुल बजाउन
एक नाशले मुठ्ठीहरू उठाउँदै
इन्क्लावको नारा लगाउन
यात्रामा जुटेका छौँ हामीहरू ।
हामी त जून घामको परिभाष खोज्ने यात्री
तारे भिरहरू फुटालेर नयाँ युगको जग हाल्ने यात्री
चट्याङसँग पनि प्रतिवाद गर्दै
स्वाभिमानका सगरमाथाहरु चढेर
देशको सीमा रेखाहरू कोर्दै कोर्दै
जिन्दगीलाई उत्सर्गित गर्न तम्तयार हामी
गन्तव्य पुग्नै छ ।
तिमीले थाके होलान् भन्ठानेका यात्री हामी
सुनौलो बिहानीको आभा सँगै
यात्रामा तैनाथ छौँ हामीहरू ।
सुन्दरहरैँचा –६, दुलारी, मोरङ