काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारले गरेको तर्कलाई ‘वाइयात’ भनेका छन् ।
मंगलबार लेखा समितिको बैठकमा बोल्ने क्रममा उनले आफूले कुलमानलाई हटाउनुको कारण खोजी गर्दा कुनै गम्भीर कुरा नभेटेको पनि दाबी गरेका छन् ।
‘नेपाल विद्युत् प्राधिकरणको एमडीलाई सरकारले हिजो हटाएछ । सरकारले हटाएपछि के के आरोप लाग्यो होला भनेर हेरेको मैले, मुख्य आरोप उसले काम गर्न नसकेको भन्ने रहेछ । अरु केही गम्भीर विषय छ कि हटाउनुको कारण भन्ने लागेको थियो,’ शर्माले भने, ‘त्यस्तो गम्भीर विषय केही पनि होइन रहेछ । उसले काम गर्न सकेन भन्ने आरोप रहेछ । यो कुरा कसैले पत्याउँदैन, मन्त्रीज्यू ।’
उनले कुलमानलाई हटाउने देशको दुर्भाग्य भएको पनि बताए ।
‘यस्तो वाइयात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु यो हाम्रो देशको दुर्भाग्य हो । यो दुःखद कुरा हो । यसको म विरोध गर्न चाहन्छु । म सरकारलाई आग्रह गर्न चाहन्छु, यो निर्णय सच्याइयोस्,’ शर्माले भने ।
उनले आफू ऊर्जा मन्त्री हुँदा बजारका सबैभन्दा योग्य मान्छे कुलमान भेटेर नियुक्त गरेको पनि बताए ।
‘मैले योग्यतम मान्छे खोजेर उहाँलाई नियुक्त गरेको थिएँ । काम गर्न सक्ने र योग्य मान्छे भन्ने पुष्टि भइसकेको सन्दर्भमा सरकारले यो ठूलो गल्ती गर्यो भोलि पश्चात्ताप हुनेछ,’ शर्माले भने ।