काठमाडौँ । शिक्षकको काठमाडौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि देशभरका शिक्षकहरू आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हडतालसमेत घोषणा गरेको छ । उक्त हडतालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् ।
महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिए। “शिक्षक-शिक्षिका आन्दोलनमा काठमाडौँ गएका छन् । शैक्षिक कार्य गर्ने वातावरण छैन ।” उनले भने, “सरकारले माग सम्बोधन गरे शैक्षिक कार्यक्रम अगाडि बढ्छन् ।” उनले कक्षा ११ को पठनपाठन बन्द गरिएको बताए । शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले सूचना जारी गर्दै विद्यालयका शैक्षिक गतिविधि बन्द गरिएको उल्लेख गरेका छन् ।
यस्तै दैलेखको सरस्वती माध्यमिक विद्यालयले पनि विद्यार्थी भर्ना कार्यक्रम स्थगित गरेको छ । विद्यालयले एक सूचना जारी गरी विद्यालयको पूर्वनिर्धारित भर्ना लगायतका सम्पूर्ण कार्यक्रमहरू शिक्षक कर्मचारी आन्दोलनलाई मध्यनजर गरी अर्को सूचना नआएसम्म स्थगित गरिएको जनाएको छ ।