काठमाडौँ। जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार मेघगर्जन चट्यांङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जनाएको छ ।
अहिले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज राति देशभर हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, मंगलबार र बुधबार देशको सातै प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन र चट्यांङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।