काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले सत्ताधारी दलमै पनि उत्साह जगाउन नसकेको बताएका हुन् ।
प्रतिनिधि सभामा आजबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
‘सत्ताधारी दलका सांसदहरूमा नै नीति तथा कार्यक्रमले आशा र उत्साह पैदा गर्दैन भने आम जनतामा आशा कसरी सञ्चार गर्ला ? यो कार्यक्रम कस्तो र कसका निम्ति आएको रहेछ भन्ने अनुमान लगाउन सकिन्छ,’ उनले भने ।
‘प्रचण्ड’ले दुई तिहाइको बहुमत प्राप्त सरकारले कुशासन मात्र दिएको बताए ।
‘दुई तिहाइको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार औपचारिकता पूरा गर्न मात्र आएको देखिन्छ,’ उनले भने, ‘यो सरकारले जनस्तरको असन्तोष, अर्थतन्त्रको जटिलता कार्यान्वयन गर्न सकेको छैन ।’







