काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सत्ता साझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन् ।
सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्ता साझेदार दलका नेताहरूले नै सरकारविरुद्ध वक्तव्यबाजी गरेको देखिएको बताए । अस्थिरतालाई मलजल हुने काम सत्ता साझेदारभित्र रहेका कसैले पनि गर्न नहुने उनको भनाइ छ ।
‘अहिले सत्ता गठबन्धनको विमतिमा कुनै काम भएको छैन सरकार एमालेकरण भयो भन्नु गलत छ’, उनले भने ।
त्यस्तै थापाले गठबन्धनको अभ्यासमा सबै अधिकार एकदललाई मात्रै नहुने भन्दै ऊर्जा मन्त्रीको प्रस्तावमा कुलमानलाई हटाएको विषय प्रधानमन्त्रीसँग जोडेकोमा आपत्ति जनाए । गठबन्धन सरकारको अभ्यास र कार्य तरिका हेक्का राख्न सत्तारुढ दलकै सांसदहरूलाई उनको आग्रह छ ।
सरकार ढल्ने वक्तव्यबाजीले मिडिया रँगिने र समाजमा ध्वनि प्रदूषण हुने क्रम जारी रहे पनि त्यस्ता वक्तव्य निरर्थक साबित भएको थापाको जिकिर छ । थापाले लुटपाट र आगजनीबाट व्यवस्था नबदलिने भन्दै निन्द्राबाट ब्युँझिएर यथार्थलाई आत्मसाथ गरेर अघि बढ्न सुझाव दिए ।







