काठमाडौँ। गीतकार नारायण खतिवडाको शब्द, दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वरमा सजिएको गीत “दुःख सुनाएर के काम ?” डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भएको छ।
नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबसहित विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्ममा यो गीत उपलब्ध छ।
गीतले मानवीय जीवनका सुख-दुःखका पलहरूलाई यथार्थपरक ढंगले प्रस्तुत गर्छ। मानिसले आफ्ना दुःख, पीडा, रोग, शोक र कठिनाइ अरूलाई सुनाउँदा सुन्ने धेरै भेटिए पनि साथ दिने कमै हुन्छन्। गीतकार खतिवडाले “साथ मागेर के काम ? चाहिँदा पाइँदैन भने !” भन्ने मार्मिक भाव व्यक्त गर्दै मानिसलाई स्वार्थी नबनी अरूको सुख-दुःखमा साथ दिन प्रेरित गरेका छन्।
गीतमा मानिसका फरक मनोवृत्ति र सोचको चित्रण छ। सकारात्मक सोच राख्नेले ऊर्जा दिन्छन् भने नकारात्मक सोच र अरूको कुरा काट्ने प्रवृत्तिबाट टाढा रहनुपर्ने सन्देश गीतले बोकेको छ। कसैको आँसु देखिन्छ, कसैको मनभित्रै गाडिएको हुन्छ भन्ने गहिरो भावले गीतले मानवीय संवेदनशीलतालाई उजागर गर्छ।
यसअघि “स्वार्थी संसार,” “मनका कुरा,” “बिन्दास,” “मेरो कथा” जस्ता लोकप्रिय गीत र “सम्झनाका पाइलाहरू” गीति संग्रहमार्फत आफ्नो सशक्त उपस्थिति जनाइसकेका खतिवडा सरकारी सेवामा कार्यरत छन्।
सामाजिक परिवेश, राष्ट्रियता र मानवीय पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने उनको यो पछिल्लो सिर्जना सामाजिक सन्देश बोकेर आएको छ।
दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको सुमधुर स्वरले गीतलाई थप हृदयस्पर्शी बनाएको छ।







