काठमाडौँ। त्रिविका प्राध्यापक संघ संगठनले फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्ति गर्नु खुल्ला प्रतियोगिताको मर्मविपरीत भएको बताएका छन् ।
प्राध्यापक संघ संगठनले त्रिवि सेवा आयोगका अध्यक्ष घनश्याम भट्टराईलाई सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
‘हाल त्रिभुवन विश्वविद्यालय सेवा आयोगद्वारा प्रकाशित आन्तरिक खुल्ला र नयाँ शीर्षक दिएको अनुसन्धानात्मक विशिष्टताका आधारमा खुल्ला प्रतियोगिता अन्तर्गतका विज्ञापनहरू उच्च स्तरीय शैक्षिक र अनुसन्धानशील जनशक्तिहरूको प्रवेश व्यवस्थापन तथा पदोन्नतिको प्रतिकूल रहेको हाम्रो ठम्याइ छ।,’ प्राध्यापक संघ-संगठनले बुझाएको ध्यानकर्षण पत्रमा भनिएको छ ।
त्रुटिपूर्ण प्रक्रिया सच्याउन उनीहरूले माग गरेका छन् । ‘खुल्ला प्रतियोगिताको मर्म विपरीत प्रतिस्पर्धालाई साँघुरो र त्रिवि सेवा प्रवेश बिन्दुको पद उपप्राध्यापक तहमा दक्षता परीक्षणका लागि लिखित परीक्षा हटाइनुले केही सीमित व्यक्तिहरूसम्म मात्र अवसर दिने र यसको दायरा सीमित गर्ने विश्वविद्यालयको कुण्ठित आशय प्रष्ट हुन्छ तसर्थ यो प्रक्रिया त्रुटिपूर्ण छ ,’ध्यानकर्षण पत्रमा भनिएको छ ।
सह-प्राध्यापक तथा प्राध्यापक पदहरूको आन्तरिक तर्फ बढुवाका लागि निर्धारित सङ्ख्या अत्यन्त न्यून र हतोत्साही भएको पनि प्राध्यापक संघ संगठनको भनाइ छ ।
‘कार्यविधि संशोधन गरी उक्त कार्यविधिका आधारमा त्रिविमा रिक्त दरबन्दीको पदपूर्ति निश्चित मापदण्ड आधार र पिरामिड खुल्ने गरी, पदोन्नति जस्तो गम्भीर विषयलाई मध्यनजर गर्दै आम प्राध्यापकहरूको मागलाई सम्बोधन गरी संशोधित कार्यविधि लागू गरी पुनः विज्ञापन गर्ने गरी हालको विज्ञापन कार्यान्वयनमा नल्याउन गर्न जोडदार माग गर्दछौँ,’ पत्रमा भनिएको छ ।







