काठमाडौँ । इलाम जिल्लाको सूर्योदय नगरपालिका-२ चारमाइलबाट सुन र चाँदीको जलप लगाएका गहनासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन् ।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा आइतबार नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्दा झोलाबाट १७ किलो ४०० ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएका गहना र विभिन्न किसिमका सामानसहित ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबर चाँदी र सुनको जलप फेला परेको थियो । परीक्षणका क्रममा ती गहनामा सुन-चाँदीको जलप लगाएको पुष्टि भएको हो ।
हाल दुवै जनालाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको छ ।







