काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले गरेका काम जनतामाझ पुर्याउन चुकेको बताएका छन् ।
नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार वीरगञ्जमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले काँग्रेस नेतृत्वमा मुलुकमा भएका काम र योगदानलाई जनतामाझ पुर्याउन नसकिएको बताएका हुन् ।
‘नेपाली काँग्रेस नेतृत्वमा मुलुकमा ठूला-ठूला महत्त्वपूर्ण काम भएका छन् । तर, हामीले गरेका कामहरूलाई जनतामाझ पुर्याउन भने सकिरहेका छैनौँ,’ उनले भने, ‘त्यसमा हामीबाट कहीँ कतै चुक भइरहेको छ ।’
उनले भने, ‘हामीले प्राप्त गरेका उपलब्धि र योगदानलाई पनि जनताको बीचमा पुर्याउन सकिरहेका छैनौँ । पार्टीले सञ्चालन गरेका विभिन्न अभियान पनि मतदाता माझ पुग्न सकिरहेको छैन । यस्तो परिरिस्थतिमा तपाईँहरू प्रशिक्षकहरूले सो पुर्याउन मद्दत पुर्याउनुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।’
उपसभापति खड्काले नेपाली काँग्रेसको अगुवाइमा देशका विभिन्न स्थानमा स्थापना भएका विश्वविद्यालय, भौतिक पूर्वाधार, सिँचाइलगायतका क्षेत्रमा गरेका विकासका कामलाई पनि जनतामाझ पुर्याउन नसकेको गुनासो व्यक्त गरेका छन् ।
‘मुलुकमा भएका भौतिक पूर्वाधार विकासमा काँग्रेसको भूमिका अहम् छ’, उनले भने, ‘हामीले गरेका कामलाई जनतामाझ पुर्याउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’
उपसभापति खड्काले संघीयता र समावेशिताका मुद्दा पनि सबैतिर पुर्याउन नसकेको स्वीकार गरेका छन् ।
उपसभापति खड्काले काँग्रेसले विकास निर्माणको क्षेत्रमा होस् शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा धेरै ठूला–ठूला नीतिगत परिवर्तन ल्याएको पनि दाबी गरेका छन् ।







