काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समयसीमा दिएको छ।
समितिको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमा सहमति जुटनका लागि थप समय माग गरेपछि समितिले पाँच दिनको समय दिएको समिति सभापति अमरवहादुर थापाले बताए।
बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमा शिक्षक महासंघसँग केही बुँदामा कुरा नमिलेकाले समिति समक्ष समय माग्नुभएको थियो । उहाँले विधेयकलाई छिटो टुग्याउन आफू प्रयत्नरत रहेको बताउनुभयो ।
“विधेयक बनाउँदा सरोकारवाला पक्षको भूमिका महत्त्वपूर्ण हुन्छ”, उनले भने, “शिक्षक महासंघसँग धेरै कुरा मिलेपनि केही कुरामा मिल्न बाँकी छ । त्यसका लागि मलाई केही समय चाहिन्छ ।”
समिति सदस्य श्याम घिमिरेले शिक्षक महासंघसँग केही कुरा मिल्न बाँकी भएकाले विधेयकलाई टुग्याउनका लागि केही समय आवश्यक रहेको बताए ।समिति सदस्य छविलाल विश्वकर्माले सरोकार पक्षको अपनत्व हुने गरी विधेयक जारी गर्नुपर्ने भन्दै नमिलेको कुरा मिलाउनतर्फ सबै लाग्नुपर्ने बताए ।







