काठमाडौँ। शैक्षिक संस्थामा भएको लापरबाही, मनमौजी रूपमा लिइने अतिरिक्त शुल्कलगायत विषयमा विद्यार्थीलाई अन्याय भएको भन्दै नेविसंघले ध्यानाकर्षण गराएको हो ।
छात्रवृत्ति वितरणको प्रक्रियालाई पूर्णरूपमा समावेशी, पारदर्शी र न्यायसंगत हुनुपर्ने, अपांगता भएका व्यक्तिहरू र आर्थिक, सामाजिक वा भौगोलिक रूपमा पछाडि परेका जेहेन्दार विद्यार्थीहरूलाई विशेष अवसर प्रदान गर्नुपर्ने, शैक्षिक सामग्री तथा विद्यालय पोशाकमा शैक्षिक संस्थाहरूको व्यापारीकरण बन्द गर्नुपर्नेलगायतका माग ज्ञापन पत्रमा समेटिएको छ ।
गत जेठ ६ गते ‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियान अन्तर्गत आफूहरूले पहिलो पत्र बुझाए पनि उक्त पत्रमार्फत राखिएका मागहरूलाई महानगरले नजरअन्दाज गरेको नेविसंघको भनाइ छ ।
ज्ञापन पत्रमा भनिएको छ, ‘अघिल्लो पत्रमा उठाइएका मागहरू हाल कुन चरणमा छन् ? कार्यान्वयन नहुनुको स्पष्ट कारण के हो ?’
यी प्रश्नको जवाफ तत्काल चाहेको र आफूहरूको माग पूरा नभएमा अन्य संघर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ । मेयरलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य भुवन भट्ट, नेविसंघ ललितपुर अध्यक्ष सरोज घोर्साइने लगायत विद्यार्थी नेताहरूको उपस्थिति थियो ।







