काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन सांघाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज चीन प्रस्थान गर्दैछन् ।
विश्वका मन्त्रीहरू एवं सचिवलगायत उच्चपदस्थ सहभागी हुने सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को रणनीतिक विषयमा छलफल हुने जनाइएको छ । यही साउन १० देखि १२ गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन मन्त्री गुरुङ राति ११:३० बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । उनका साथमा सूचना प्रविधि सल्लाहकार डा. शालिग्राम पराजुली र स्वकीय सचिव विक्रम न्यौपानेलगायत छन् ।
सम्मेलनबाट एआईसम्बन्धी विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने मन्त्रीका सूचना प्रविधि सल्लाहकार डा. पराजुलीको भनाइ छ । मन्त्री गुरुङ यही साउन १४ गते स्वदेश फर्कने तालिका छ ।







