काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन् ।
आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले छठपर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।
अध्यक्ष ओलीले दुर्घटनामा परी दिवंगत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।





