सिरहा । यहाँको लहान नगर हुँदै बग्ने खुटी खोलाबाट सिँचाइका लागि निर्माण गरिएको नहर सञ्चालनमा ल्याउन किसानले माग गरेका छन् । वर्षौंदेखि सिँचाइ सुविधाका पर्खाइमा रहेका लहान नगर र वरपरका किसानहरूले खुटी नहरको तत्काल सञ्चालनको माग गर्दै संघर्ष समिति गठन गरेका छन् ।
पूर्वनगरप्रमुख मुनि साहको कार्यकालमा प्रदेश सिँचाइ कार्यालयको सहयोगमा करिब रु आठ करोड ७२ लाखको लागतमा ‘हेडवक्र्स’ निर्माण गरिएको थियो । यसबाट लहानको दक्षिणी क्षेत्र हुँदै ९३५ बिघा खेत सिँचाइ गर्ने लक्ष्य राखिएको थियो ।
‘हेडवक्र्स’ निर्माणपछि खुट्टी खोलाको पानी अब सिधा खेतसम्म पुग्छ भनी कसानमा आशा पलाएको थियो । तर, लहान नगरपालिकाले उक्त नहरलाई ‘ह्युमपाइप’ राखेर सहरी फोहोर निकासको ड्रेनमा रूपान्तरण गर्न रु आठ करोडको ‘टेन्डर’मार्फत काम सुरु गरेपछि किसान आक्रोशित बने । विरोधपछि किसानहरूले संघर्ष समिति गठन गरी दबाब सिर्जना गरेपछि उक्त योजना स्थगित गरिएको किसान संघर्ष समितिका संयोजक धर्मराज चौधरीले जानकारी दिए ।
यस वर्ष वर्षा अभावका कारण खानेपानीका हाते पम्पहरूसमेत सुक्न थालेका छन् । यस्तो अवस्थामा नहरबाट सिँचाइ सम्भव होला भनेर स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, प्रदेश सभा सदस्यसहित नागरिक अगुवाहरू सक्रिय भएका छन् । उनीहरूले लहान–१० मा रहेको हेडवक्र्स क्षेत्रबाट जेसिबी प्रयोग गरी नहर सफाइको प्रयास गरे पनि नगरपालिकाले सहयोग नगरेको जनाउँदै असन्तुष्टि व्यक्त गरेका छन् । मधेश प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले भने, “हामीले हेडवक्र्सबाट नहरको सरसफाइ गर्न जेसिबी माग गरेका थियौँ । तर, नगरपालिकाले सहयोग गर्न नमानेपछि किसानको मेहनत, प्यास र आशामा अवरोध पुगिरहेको छ । यो दुःखद पक्ष हो कि जनताका आवश्यकताप्रति स्थानीय सरकार बेवास्ता गरिरहेको छ ।”
उनले भने, “बर्सेनि पानीको अभावमा धान रोप्न सकिँदैन, बाली सुक्छ, तर यस्तो महत्त्वपूर्ण पूर्वाधार अलपत्र पारिएको छ । नहर सञ्चालन गरिनु भनेको सिँचाइ सुविधा मात्र होइन, किसानको जीवन रक्षा गर्नु हो ।” यस क्रममा नगर उपप्रमुख रामचलितर महतो भने आफैँ जेसिबी लिएर नहरसम्म पुगेर सक्रियताका साथ नहर सञ्चालनका लागि प्रयासरत रहनुभएको छ । उनले भने, “खुटी नहर लहानको सिँचाइका लागि जीवनरेखा हो । नगरपालिकाको तहबाट जुनसुकै सहयोग आवश्यक पर्छ, म आफैँ अगाडि छु । जेसिबी लिएर पुग्नुका कारण यही हो । किसानका खेत सिञ्चित बनून्, हाम्रो उत्पादन बढोस् ।” उनले नहर राजनीतिक विषय नभएर सर्वसाधारणको जीवनसँग जोडिएको सवाल भएको बताए।
नगरप्रमुख महेशप्रसाद चौधरी भने नहरलाई ह्युमपाइपमार्फत व्यवस्थित गर्दै सिँचाइ पनि पुर्याउने योजना रहेको जानकारी दिए। तर, उनले संघर्ष समिति गठन गरेर समस्या राजनीतिक प्रतिशोधका कारण उत्पन्न गरिएको आरोप लगाए। यदि नहर सञ्चालनमा ल्याइयो भने लहान -१, २, ३, १९, २०, २१, २२, २३ साथै सखुवानानकरपट्टी र भगवानपुर गाउँपालिकाका ९३५ बिघा खेतमा सिँचाइ सम्भव हुने बताइएको छ ।







