एकछिन कल्पना गरौं है त ! एउटा वयोवृद्ध कम्युनिस्ट नेता छन्। उनको शरीर त्यसै वृद्ध भएको होइन। जवानीको समयमा त्यो शरीरले धेरै घाम खायो, धेरै पानीमा भिजे उनी। ठक्कर खाएको ज्यान र टक्कर लिएको जीवन। जेल बसेको देह र नेल-हतकडी बोकेका हातगोडा प्रमाण छन्।
परन्तु समयले किन पर्खेर बस्थ्यो ? आज उनको शरीर त्यही हो भनेर को विश्वास गर्छ ? आँखामा विद्रोहको ज्वाला निभिसक्यो। पुरानो जोश र जज्बा छैन। कपाल झर्यो, दाह्री फुल्यो, गाला झुल्यो। शरीर पुरानो, सोच पुरानो। किन्तु पहिरन आधुनिक, खानपिन आधुनिक, रहनसहन पनि आधुनिक। छोरा-नाति यी बाजेबाट केही हुने आशा मार्दै वायुयान चढेर वायु वेगले विदेशतिर हानिए। यता वृद्ध नेता ‘देश बनाउने’ अन्तर्वार्ता दिन छाडेका छैनन्।
वृद्ध कामरेड अझै पनि अपरिभाषित वाम आन्दोलनका कुरा गरेर थाक्दैनन्। अर्काथरी ‘प्रजातान्त्रिक समाजवादी’ पनि आफूले समात्दै आएको खाँबो छाड्न तयार छैनन्। विपरीत मार्गका बटोही उनीहरू अचेल प्रायः मिलिजुली खुराकिन थालेका छन्। उनीहरू अतीतका पदचाप मात्र सुन्छन्। उनीहरू आजको युगीन पदचाप या त सुन्दैनन्, या त समझभन्दा बाहिर छ, या त जीवनभर लगाउँदै आएको मुखुण्डो फाल्नुपर्ने हो कि भनेर भयभीत छन्।
कामरेडहरू अहिले पनि ‘सामन्त र बुर्जुवा’ जस्ता शब्द बोलेर थाक्दैनन्। कार्ल मार्क्सको समयका ती बुर्जुवाहरू आफ्नो युगको प्रतिनिधित्व गरेर सदाका लागि लोप भइसके। तत्कालीन सामन्ती प्रथाको अब नामोनिशान छैन। उनीहरूका सन्ततिको धमनीमा अचेल अर्कै रगत बग्छ। श्रमको तरिका बदलियो। वर्गीय सोच र स्वरूप बदलियो। उत्पादनको पद्धति बदलियो। सञ्चारतन्त्रको महामारी फैलिँदो छ। भिन्न ढङ्गका समस्या बढेका बढ्यै छन्। मानव जाति नै अर्को ढङ्गको समस्यामा छ। सभ्यताको दौडको तीव्रता धान्नै कठिन हुन थालिसक्यो। तनमा सुख भए तापनि मनमा चयन छैन। आध्यात्मिक चेतनामा उन्नयन नगरी नहुने अवस्था आइसक्यो। यता हाम्रा समाजवादीहरू भने भूमिहीनलाई जमिन वितरणका कुरा गर्छन्। मानिस बस्न छाडेका गाउँमा जमिन वितरण गरेर कसले जोतेर खाने ?
मनुष्य, जीवजन्तु र वनस्पति सबै प्राणीलाई बाँच्नका लागि खुराक चाहिन्छ। हाम्रो शरीरलाई निरन्तर ऊर्जा चाहिन्छ। आत्माले ज्ञान र अनुभवबाट पोषण प्राप्त गर्दछ। मन आश्वासन, स्नेह र भरोसाबाट समृद्ध हुन्छ। हाम्रो प्रणाली पनि केवल जड वस्तु मात्र होइन। प्रणालीमा पनि भिन्न प्रकारको चैतन्य हुन्छ। यसलाई पनि जीवित रहन भिन्न किसिमको समयानुकूल र सम्यक् पोषण चाहिन्छ।
प्रणालीय चेतना फगत राजनीतिक अवधारणा मात्र होइन। यो एक त्यस्तो गहन बौद्धिक, नैतिक र सांस्कृतिक बोध हो, जसले प्रणालीको अस्तित्व, आत्मा र उद्देश्यसँग सरोकार राखेको हुन्छ। सामाजिक चेतना व्यक्तिगत चेतनाको विस्तारित रूप हो। यसले प्रणालीलाई जीवन्त पार्दछ र त्यही नै समष्टिमा चेतनाको द्योतक हो।
प्रणाली आस्थाको अदृश्य पुञ्ज हो। प्रणाली आचार, विचार, अठोट, परिश्रम, आपसी विश्वास, प्रश्न, सन्देह र सम्बन्धको त्यस्तो माला हो, जो निरन्तर उन्नतिशील र परिवर्तनशील हुन्छ। प्रणाली स्वयं सास फेर्दैन र बोल्दैन, तर यसले मनुष्यको श्वासप्रश्वास, चेतना र वाणीलाई दिशा दिन्छ। प्रणाली स्वयं कर्म गर्दैन, किन्तु कर्मको रचना गर्दछ। एउटा अदृश्य तत्त्वले उसलाई पोषण गरिरहेको हुन्छ। प्रणाली मर्दैन, तर रूपान्तर हुन्छ। प्रणाली भिन्न कलेवरमा नवीकरण हुँदै जान्छ। मुख्य कुरा के हो भने मनुष्य मात्र प्रणालीमा रहदैन, प्रणाली पनि मनुष्यमा रहेको हुन्छ। यो दोहोरो निर्भरता हो। यदि प्रणालीमा मनुष्य रहनुपर्ने तर प्रणाली मनुष्यमा रहनु नपर्ने हुन गयो भने तानाशाहीको उदय हुन्छ।
प्रणालीलाई अविरल पोषणको आवश्यकता पर्छ। मुख्य कुरा राज्यव्यवस्थाले कस्तो खुराकको बन्दोबस्त गर्छ भन्ने हो। परम्परागत रूपमा के सोचिन्थ्यो भने गाउँसम्म विकास पुर्याउन सकियो भने गाउँको मानिस गाउँमै अडिन्छ। आज पनि त्यही सोचाइ राखेर बस्नु एउटा भूल बाहेक केही होइन। भौतिक समृद्धिले मानिसलाई अड्याउने मात्र होइन, हिँडाइदिन पनि सक्छ। वास्तवमा जति विकास भयो, त्यति नै गतिशीलता बढ्ने हो।
मानिस स्वभावैले यायावर प्राणी हो। यो यायावरी चरित्रको उत्तर केवल सामाजिक कारणमा सीमित छैन। यसलाई ऐतिहासिक, जैविक, मनोवैज्ञानिक र दार्शनिक कारणमा खोज्नुपर्छ। बसाइ सराइ मानवीय चरित्र हो। आजको ‘नगद विना काम नचल्ने’ जमानामा नगदमुखी रोजगार नभएको ठाउँमा कोही पनि टिकेर बस्नेवाला छैन। हाम्रो समस्या बेरोजगारीको नभई नगदमुखी रोजगारीको अभाव हो। त्यस्तो रोजगारीको व्यवस्था गर्न सकियो भने बसाइ सराइको समस्या धेरै हदसम्म समाधान हुनेछ। कोही पहाडबाट तराईतिर सर्ला त कोही तराईबाट पहाडतिर। कोही गाउँ छाडेर सहर पस्ला त कोही सहरको भिड छाडेर गाउँतिर पस्ला। कोही कर्णालीबाट भेरीतिर झर्ला त कोही बाँके र बर्दियाको गर्मीबाट छुटकारा पाउन शीतल कर्णालीतिर। हाम्रा नीति निर्माताले प्रणालीय कुपोषणले गर्दा एकोहोरो बसाइ सराइ भएको हो भन्ने कुरा मनन गर्नु आवश्यक थियो।
हामीलाई चाहिएको प्रबुद्ध राजनीति हो, तर त्यो वृद्धत्वको सिकार भयो। राष्ट्रिय विधायिकामा प्रतिनिधित्व गर्ने युवा सांसदहरूले पनि संसदको मर्यादा राख्न सकेनन्। परिणामतः संसदले पनि समयानुकूल खुराक पाउन सकेन। बासी र अरनखटनको खुराकले संसदमा अजीर्ण भयो। हाम्रा संवैधानिक संस्थाहरूले प्रणालीलाई पौष्टिक खुराक दिनुपर्ने हो, तर आफै कसैका मोहरारूपी खुराक बन्न पुगे।
सबै कुरा बदलिएपछि प्रणालीलाई पनि त्यही अनुरूपको पोषण चाहिने नै हुन्छ। किन्तु कुनै अध्ययन छैन, मनन छैन, अनुसन्धान छैन। लकिरका फकिरझैं उही वाद भनेको छ, उही मार्क्स भनेको छ, उही उदारवाद भनेको छ। मार्क्ससँग अनुहार, संस्कृति र भूगोल मिल्ने युरोपेलीहरूले बेलैमा सचेत हुँदै क्रान्तिलाई उद्गममै रोकिदिए। देश समृद्ध भए, जनता समृद्ध भए। सोच र रहनसहन उन्नत भयो। बालबालिका र वृद्धवृद्धा सुखी भए। सुत्केरीले पोषणरूपी सुख पाए। महिला स्वतन्त्र भए। शासनसत्ता प्रायः नैतिक हुँदै गयो। यसरी प्रणालीले खुराक पायो।
हामीले पश्चिमाबाट धेरै वर्ष पहिले सिकेका बाहिरबाट देखिने विकासलाई मात्र आत्मसात् गर्यौं। बाटो, अस्पताल, स्कुल, खानेपानी र बिजुली जस्ता स्थूल कुरामा हाम्रो ध्यान गयो। आजभन्दा अढाई दशकअघिको अवस्थामा यी कुराहरू समृद्धिका वास्तविक सूचक थिए। हामीले समयको माग अनुरूप प्रणालीका अदृश्य र सूक्ष्म आयामतर्फ ध्यान दिन सकेनौं। खुला चउरमा पठनपाठन हुने ठाउँमा एउटा पक्की स्कुल बन्नु सानो कुरा थिएन। तर समयले गुणस्तरीय शिक्षाको माग पनि गर्न थालिसकेको थियो। हामीले स्वास्थ्य चौकीलाई विकास मान्यौं, तर समयले गुणस्तरीय स्वास्थ्यसेवा माग्यो। यसरी हाम्रो प्रणालीले कलेवर त पायो, किन्तु पोषणका लागि आवश्यक सूक्ष्म तत्त्व पाउन सकेन।
एउटा अस्पताल बनाउनु सरकारको काम हो भने त्यहाँ योग्य डाक्टर खटाउनु कर्तव्य। बाटो बनाउनु सरकारको काम हो भने समयानुकूल रोजगारी दिनु कर्तव्य। अहिलेको जमानामा साप्ताहिक/पाक्षिक नगद आय हुने कुनै न कुनै रोजगारीको व्यवस्था राज्यको कर्तव्य हो। त्यही हुन नसक्नाको परिणाम राज्यले जुन मोटरबाटो बनायो, त्यही बाटो हुँदै मानिस पलायन गर्न थाले। यस परिप्रेक्ष्यलाई सूक्ष्मतापूर्वक मनन गरेर प्रणालीलाई उचित खुराक उपलब्ध गराउनमा राज्य चुकेकै हो।
स्कुल खुल्नु भौतिक तत्त्व हो भने असल शिक्षा प्रणाली पोषक तत्त्व। योग्य शिक्षक, उचित सुविधा र पठनपाठनको सम्यक् वातावरण जस्ता खुराक पुगेन। उता शिक्षकहरूलाई पार्टीका कार्यकर्ता बन्न प्रेरित गरियो।
मान्छेले गाउँ छाडे भनेर सबैलाई स्वाभाविक चिन्ता छ। मनुष्यको सहज प्रवृत्ति नै सुविधा भएको ठाउँतर्फ जाने हो। विकसित देशमा त रोजगारी भएको ठाउँतिर दौडेर जाने क्रम बढ्दो छ भने नेपालको के कुरा ! हेर्दा स्थिर खडा रहेको देखिने एउटा अचल वृक्ष पनि जराहरूको माध्यमबाट जता-जता चिस्यान र मल छ, उतै उतै जान्छ। हामीले विश्वभरि फैलिंदै गएको सूचना प्रविधिको भेललाई रोक्न सक्ने अवस्था थिएन। जनताको आकांक्षाको प्रवाहलाई रोक्न सक्ने र पाउने अवस्था पनि थिएन। हाम्रो जस्तो अल्पविकसित देशका लागि त्यो प्रवाह निर्मम नै हो। तथापि, हामीले सक्ने जति पनि होसियारी अपनाउन सकेनौं।







