काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले पदबाट राजीनामा दिएका घोषणा गरेका छन् ।
जेन जेडको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेन जेडको समर्थनमा राजीनामा दिएको बताएका छन् ।
सांसद शाहले सामाजिक सञ्जालमा आफूले पदबाट राजीनामा दिएको लेखेका छन् । ‘म असीम शाह प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराउँछु’ उनले लेखेका छन् ।
रास्वपाका समानुपातिक सांसद शाहले जेन जेड प्रदर्शनलाई समर्थन गर्दै पदबाट राजीनामा दिएको लेखेका छन् । जेन जेड आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ,’ उनले लेखेका छन्, ‘मैले पटक-पटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ- सडक विद्रोह हुन सक्छ, यदि युवाको भावना बुझिएन भने । तर, सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन् ।’
सांसद शाहले संसद् भवनको सुरक्षाभन्दा युवाहरूको ज्यान ठुलो भएको पनि लेखेका छन् ।
संविधानको धारा ८९ मा सांसदले पदबाट राजीनामा दिन सक्ने व्यवस्था गरिएको छ । प्रतिनिधि सभा सदस्यले सभामुखलाई राजीनामा बुझाउनुपर्ने लेखिएको छ ।







