काठमाडौँ। नेपाली मोटर स्पोर्ट्स खेलाडी आशिष (रोनी) भारतीले एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन् ।
उनले श्रीलंकाको कोलम्बोमा आइतबार सम्पन्न च्याम्पियनसिपको अटोजिमखाना विधामा पहिलो हुँदै उक्त उपलब्धि हासिल गरेका हुन् ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले नेपाली मोटर स्पोर्ट्समा यो ऐतिहासिक सफलता भएको बताए ।
‘नेपाली मोटर स्पोर्ट्स सबैभन्दा ठूलो सफलता हो यो । अहिलेसम्म १६ वर्षमा यो तहको सफलता पहिलो पटक हो । हामीले सोचेका थियौँ तर छिटै हात लाग्यो’ भट्टराईले भने, ‘रोनी नेपालको उत्कृष्ट खेलाडी भएकोले पोडियममा पुग्छ भन्ने विश्वास गरेका थियौँ ।’
नेपालमा पनि मोटर स्पोर्ट्स हुन्छ भनेर अहिले एसियाले नै थाहा पाएको भट्टराईले बताए ।
रोनीले एक दशकको मिहिनेतबाट यो सफलता प्राप्त गरेको हो । मोटर स्पोर्ट्समा एक(दुई वर्ष मात्र नभएर लगातारको मिहिनेतले पदक जित्न सकिन्छ भन्ने रोनीको सफलताले प्रमाणित गरेको छ ।
नेपालबाट टु ह्विलर मात्र नभएर फोर ह्विलरमा पनि पदक आउन सक्छ भन्ने देखाएको भट्टराईले बताए ।







