काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्लाको जानकी गाउँपालिका-९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
अख्तियारले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार, वडा अध्यक्ष भण्डारी, तत्कालीन वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, खरिदार पूर्णबहादुर विष्ट तथा वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल र शेरबहादुर विश्वकर्माले मिलेमतो गरी कुल रु. ७३ लाख ३७ हजार ६२७ बराबरको सामाजिक सुरक्षा भत्ता रकम हिनामिना गरेको पाइएको हो।
अनुसन्धानका क्रममा आ.व. २०७४/०७५ देखि २०७७/०७८ को दोस्रो चौमासिकसम्म मृतक व्यक्तिहरूको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, एउटै नागरिकता नम्बरबाट दोहोरो लाभग्राही अभिलेख तयार पारिएको र नवीकरण नै नभएका लाभग्राहीका नाममा रकम भुक्तानी गरिएको खुलेको अख्तियारले जनाएको छ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनअनुसार तत्कालीन वडा सचिव बुढाले लाभग्राहीको नाममा आफैँले ४७९ औँठाछाप लगाएको र कार्यालय सहयोगी सोनम कठरियाले २०४ औँठाछाप प्रयोग गरेको प्रमाण भेटिएको अख्तियारले जनाएको छ।
त्यसरी झुट्टा अभिलेख र औँठाछाप प्रयोग गरी मृतक तथा नवीकरण नगरिएका लाभग्राहीका नाममा भत्ता रकम बैंक खातामार्फत निकासा गरिएको बताइएको छ। सो क्रममा मृत्यु दर्ता भइसकेका व्यक्तिहरूको नाममा पनि नवीकरण गराई रकम भुक्तानी गरिएको पाइएको छ।







