काठमाडौँ । नेपाली काँग्रेसका नेता आङगेलु शेर्पाले जेन जेड आन्दोलनका एजेन्डा सम्बोधन नगरी चुनावमा जान उपयुक्त नहुने बताएका छन् ।
काँग्रेसका संस्थापन पक्षीय नेताहरूले १५ औँ महाधिवेशन पछि धकेलेर चुनावमा जानुपर्ने धारणा राखिरहेका बेला उनले जेन जेड आन्दोलनले उठाएका विषय वस्तु सम्बोधन नगरी चुनावमा जान उपयुक्त नहुने बताएका हुन् ।
‘जेन जेडलाई सहभागिता गराएन भनेर यत्रो तहस नहस भएको छ । त्यसका एजेन्डा सम्बोधन नगरिकन, यसका विषयवस्तुहरू सम्बोधन नगरिकन चुनावमा जाँदा उपयुक्त हुन्छ ?,’ सानेपामा जारी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा धारणा राख्ने क्रममा उनले प्रश्न गर्दै भने, ‘फेरि चुनाव हुने वातावरण छैन । चुनाव भनेर धेरै उत्साहित नहुनुस् साथीहरू ।’
शेर्पाले संस्थापन पक्षीय नेताहरूलाई अधिवेशन पछि धकेलेर चुनावमा जाँदा पार्टीको दृष्टकोण र एजेन्डाबारे पनि प्रश्न गरे ।
‘धेरै नेताहरूले चुनावमा जाऔँ, अधिवेशन पर पुर्याऔँ भन्नुभयो । अधिवेशनलाई पर पुर्याएर हाम्रो दृष्टिकोण के हो त ? हाम्रो एजेन्डा के हो त ?,’ उनले प्रश्न गरे, ‘लोकतन्त्रमाथि प्रश्न उठाएको छ त्यसलाई कसरी परिमार्जन गर्ने ? अर्थतन्त्रमाथि यत्रो प्रश्न उठेको छ, त्यसलाई कसरी परिमार्जन गर्ने ?’
नेता शेर्पाले काँग्रेस मत माग्न गाउँ–घरमा आउला भनेर जनताले लौरोदेखि प्रश्नहरू बोकेर पर्खिरहेका पनि बताएका छन् ।
‘हामी चुनाव चुनाव भन्दै गर्दा के लिएर चुनावमा जाने रु चुनाव भनेको यान्त्रिकता हो ? काँग्रेस आयो भनेर भोट फरफर आउने चिज हो ?’ शेर्पाले प्रश्न गर्दै भने, ‘नेपाली काँग्रेसलाई भोट दिन जनता पर्खे बसेका छन् ? जनता त लौरो लिएर पर्खी बसेको छ । हजारौँ प्रश्नहरू लिएर बसेको छ ।’
विगतमा काँग्रेसमाथि विपक्षी दलहरूले प्रश्न गरे पनि अहिले आफ्नै मतदाताहरूले पनि प्रश्न गरिरहेका उनको भनाइ थियो ।
‘हिजो प्रश्न विपक्षी पार्टीले गर्थ्यो । तर, आज आफ्नै कार्यकर्ताले प्रश्न गर्न थालेका छन् । आफ्नै मतदाताले प्रश्न गर्न थालेका छन्,’ शेर्पाले भने, ‘न्युट्रल जनता प्रश्न गर्न थालेका छन् । अनि त्यो प्रश्नको उत्तर नदिकन चुनाव आयो भनेर लखर लखर जाँदाखेरि भोट हाल्छन् रु’
काँग्रेसले स्थापनाकालदेखि उठाएको संसदीय व्यवस्थामाथि प्रश्न उठ्दा पनि नेताहरू बोल्न नसकेको उनले बताए । ‘नेपाली काँग्रेसले स्थापनाकालदेखि उठाएको संसदीय प्रश्नमाथि प्रश्न उठाइएको छ,’ शेर्पाले भने, ‘हामी चुइँक्क बोल्न सकेका छैनौँ । हाम्रो नेताहरू कोही चुइक्का बोल्न सकेका छैनन् । आज प्रश्न उठेको छ, विचित्र छैन ?’







