काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
शुक्रबार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।
उनले आफूहरू निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रूपमा स्थापित गर्न एकताबद्ध भएर लाग्न नेता कार्यकर्ताहरूलाई आह्वान समेत गरेका छन्।
आफूहरू उमेरले ७० वर्ष कटेपनि जेन जेड पुस्ताभन्दा कम सक्रिय नरहेको टिप्पणी गर्दै संयोजक दाहालले सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रूपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए ।
‘उमेरले ७० कटेपनि हामी जेनजीभन्दा कम सक्रिय छैनौँ । हामी जेनजीभन्दा कम खटेका छैनौँ । अब सुदूरपश्चिममा नेपाली कम्युनिष्ट पार्टीलाई एक नम्बर बनाउन कसैले रोक्नै सक्दैन,’ उनले भने, ‘यो पार्टीलाई एक नम्बर बनाएर नयाँ इतिहास रच्ने अवसर गुम्न नदिनुहोला । सुदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।’
उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग पार्टी प्रतिबद्ध रहेको पनि बताए ।







