काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि, आत्मनिर्भरता र दिगो विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।
माघे सङ्क्रान्तिको अवसरमा दाङमा आयोजित कार्यक्रममा उनले एमाले नेतृत्वमा प्राकृतिक स्रोतको उत्खननदेखि ठुला पूर्वाधार, शिक्षा र ऊर्जा क्षेत्रमा ऐतिहासिक कामहरू अघि बढाइएका कारण मुलुक विकासको सही दिशामा अघि बढेको बताए ।
महासचिव पोखरेलका अनुसार एमाले नेतृत्वको सरकारका पालामा दैलेखको पेट्रोलियम खानी, नवलपरासीको फलाम खानी तथा मुस्ताङको युरेनियम खानीको उत्खनन र अध्ययन कार्य सुरु गरिएको हो ।
नेपाल आफ्नै स्रोत-साधनको उपयोग गर्दै आत्मनिर्भर बन्ने दिशामा अघि बढ्न थालेपछि केही शक्ति राष्ट्रहरूलाई असहज भएको बताएका छन।
पूर्वाधार विकासतर्फ दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माण तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले यसअघि भारतीय एक्जिम बैंकको ऋणमा भएको सम्झौता कार्यान्वयनमा जटिलता आएपछि परियोजना अल्झिएको समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल सरकारकै बजेटबाट निर्माण प्रक्रिया अघि बढाएर परियोजनालाई गति दिएको उनको भनाइ छ ।
शिक्षा क्षेत्रमा एमाले नेतृत्वको सरकारले ठोस पहल गरेको उल्लेख गर्दै महासचिव पोखरेलले दाङमै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ कलेज सञ्चालनमा आएको जानकारी दिनुभयो । यसले स्थानीय युवालाई प्राविधिक शिक्षामा पहुँच बढाएको उहाँको भनाइ छ ।







