काठमाडौँ । एम्बास्डर्स क्लब नेपालले संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक-नेपाल हाना सिंगल-हाम्दीलाई ‘रिकग्निसन अवार्ड-२०२५’ प्रदान गरेको छ।
विशालनगरस्थित क्लबको कार्यालय परिसरमा सोमबार आयोजित विशेष समारोहमा क्लबकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले हाम्दीको विशिष्ट नेतृत्व, सेवाप्रतिको प्रतिबद्धता तथा नेपालको विकास यात्रामा पुर्याएको दिगो योगदानको कदर गर्दै सम्मान गरिएको जानकारी दिइन्।
उक्त अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले हाम्दीलाई अवार्ड हस्तान्तरण गरेका हुन्।
क्लबका अनुसार ‘रिकग्निसन अवार्ड’ अब वार्षिक रूपमा प्रदान गरिनेछ। प्रत्येक वर्ष राजदूत, कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका प्रमुख वा अधिकारीहरूलाई निर्णायक मण्डलको छनोटमा सम्मान गरिने व्यवस्था गरिएको छ। हाम्दीले यस अवार्डको पहिलो संस्करण प्राप्त गरेकी हुन्। एम्बास्डर्स क्लब नेपालले यो सम्मानले नेपालमा विकास सहयोग सुदृढ पार्ने तथा सकारात्मक परिवर्तनलाई प्रवर्द्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धता झल्काउने जनाएको छ।
सम्मान ग्रहणपछि मन्तव्य दिँदै हाम्दीले एम्बास्डर्स क्लब नेपाल र अध्यक्ष ढकालप्रति आभार व्यक्त गरिन्। उनले नेपाललाई आफ्नो ‘माइतीघर’को रूपमा उल्लेख गर्दै सन् १९९७ देखि नेपालसँगको निरन्तर सम्बन्ध, पटक–पटकको भ्रमण, करिब छ वर्ष नेपालमा बसेर काम गरेको अनुभव र ५४ भन्दा बढी जिल्लाको यात्रा गरेको प्रसङ्ग साझा गरिन्। नेपालप्रति गहिरो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उनले यहाँ ‘केही जादू’ रहेको र त्यसको मुख्य कारण नेपाली जनता भएको बताइन्।
पुरस्कार समारोहमा नेपालस्थित विदेशी राजदूतहरू, कूटनीतिज्ञहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि तथा निजी क्षेत्रका नेताहरूको उपस्थिति रहेको थियो।







