काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक यस्ता भ्रमहरू चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिएका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका सापकोटाले सबै दलहरूलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने बताए ।
विशेष गरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले भन्नुभयो, ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू’ र आफूहरू एउटै नभएको बताए ।
उनले नयाँ उम्मेदवारहरूलाई कुन सरकारी कार्यालय कहाँ पर्छन् भन्ने आधारभूत जानकारी समेत नभएको भन्दै उनीहरूका कुरा हास्यास्पद रहेको टिप्पणी गरे ।
पार्टीका तर्फबाट भएका विगतका कमजोरीहरू स्वीकार गर्दै सापकोटाले जनतामाझ गएर आत्मालोचना गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।







