काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले मधेश क्षेत्रको वित्तीय प्रणाली असन्तुलित बनेको उल्लेख गर्दै सहकारी, मिटरब्याज र लघुवित्तसम्बन्धी समस्यालाई नीतिगत रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनकपुरमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्दै उनले वित्तीय अनियमिततामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गरिनेसमेत स्पष्ट पारे। साथै मधेशमा दीर्घकालीन सुधारका लागि वैकल्पिक वित्तीय संरचना विकास गर्ने योजना रहेको उनको भनाइ थियो।
उनले मधेशका दलित, अल्पसङ्ख्यक र महिलालगायत समुदायको समावेशी विकासलाई प्राथमिकतामा राख्दै नयाँ दृष्टिकोणसहित अघि बढ्ने बताए। क्षेत्रीय रूपमा लागू औषध दुर्व्यसनको समस्या देखिएको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि विशेष कार्यक्रम आवश्यक रहेको उनले औँल्याए।
आगामी पाँच वर्षभित्र खेलकुद पूर्वाधार विस्तारअन्तर्गत क्रिकेट रंगशालासहित अन्य संरचना निर्माण गर्ने लक्ष्यसमेत प्रस्तुत गरिएको उनले बताएका छन्।







