राष्ट्रिय झण्डा हरेक मुलुकको सम्प्रभुता, स्वाभिमान र पहिचानसँग जोडिएको नाम, नक्सा जस्तै एउटा पहिचानको वस्तु हो। प्राचीनकालदेखिनै झण्डाको प्रयोग संगठित समूहहरूलाई जनाउने, त्यस्ता समूहहरूले आफ्नो शासित वा अधिनस्थ क्षेत्रलाई जनाउने माध्यमको रूपमा प्रयोग गरिन्थ्यो। खासगरी विशेष उत्सव वा युद्ध, र युद्धमार्फत जितेको क्षेत्र दाबी गर्न झण्डालाई सांकेतिक रुपमा विजय वा अधिनको प्रतीकको रूपमा प्रयोग हुन्थ्यो । कुनै मुकामसम्म झण्डा गाड्नु, फहराउनु भनेको सो क्षेत्र त्यो झण्डा गाड्ने वा फहराउने ल्याकत राख्ने शासक वा संगठित समूह अधिनस्थ भूभाग हो भनेर बुझ्नुपर्यो ।
पछि गएर आधुनिक नेसन–स्टेट्स (राष्ट्र-राज्य) हुँदै गर्दा, विभिन्न राष्ट्रियता भएको भूगोललाई जनाउने राज्यको एक प्रतीकको रूपमा झण्डालाई लिन थालियो। झण्डामा प्रयुक्त संकेत, चित्र, रंग आदिलाई राज्यको मूल्य, भूगोल, दर्शन प्रतिम्बित गर्ने प्रतीकको रूपमा लिइन्छ; त्यसैले त राज्यले प्रयोग गरेका झण्डामा आधारमा राज्य प्रतिको दृष्टिकोण समेत निर्माण गर्ने गरिन्थ्यो। आधुनिक राज्यहरुले झण्डाको गरिमा, महत्व र प्रयोगलाई संविधान, विभिन्न कानुन वा संहितामार्फत औपचारिकता र वैधानिकता दिंदै आएका छन्। त्यसैले पनि अन्तर्राष्ट्रिय स्तरमा नै राज्यहरूको राजनीतिक पहिचानको रूपमा झण्डालाई अग्रपंक्तिमा राखिन्छ।अन्तर्राष्ट्रिय, बहुपक्षीय, क्षेत्रीय तथा द्विपक्षीय सभा- सम्मेलन, वार्ता आदिमा राज्यको गरिमा, उपस्थिति, एक्येबद्धता आदि जनाउन झण्डाको प्रयोग हुन्छ । त्यसैले पनि झण्डा राजनीतिक सङ्केत चिन्ह मात्र नभई मुलुकको सार्वभौमिकता र राजनीतिक अस्तित्व, उपस्थिति र पहिचानको प्रतिक हो।
कतिपय अवस्थमा झन्डाले त्यस देशको राजनीतिक प्रणाली, व्यवस्थाको स्वरूप र अन्तर्राष्ट्रिय दृष्टिकोण प्रदान गर्ने राजकीय वस्तुको रुपमा पनि काम गर्दछ । जस्तो कि, सन् २०२१ मा अफगानिस्तानमा तालिवानले शासन संचालन सुरुगरेसँगै आफ्नो झण्डाको रङ र त्यसमा अङ्कित सङ्केत/चिन्ह पनि परिवर्तन गरेको छ ।यसले झण्डा प्रयोगको शास्त्रीय भौगिलिक सिद्धान्तलाई विस्तारै अस्विकार गर्दै गएको भान हुन्छ ।
पछिल्लो समयमा झण्डाको प्रयोगलाई लिएर सार्वजनिक वृत्तमा असाध्यै चर्चा हुने गरेको छ। यसको प्रयोग, उपयोग, दुरुपयोगका विभिन्न तहमा तर्क – वितर्क भईरहेका छन्। यसलाई कहाँ र कसरी प्रयोग गर्ने? प्रयोगको सीमा कति हो? प्रयोग गर्न हुने–नहुने ? किन गर्ने वा किन नगर्ने? जस्ता विषयहरु विस्तारै छलफलमा आउदै छन् । झण्डा प्रयोगको सन्दर्भ, सीमा र मर्यादाको सन्दर्भमा यसको एतिहासिक, कानूनी, प्राविधिक र मनोबैज्ञानिक आयामहरुलाई मिहिन ढंगले केलाउनु सान्दर्भिक हुन्छ।
माथि उल्लेख गरिएझैँ झण्डाको कानुनी आधार, यसको आकार-प्रकार, यसको उपयोग, यसको दुरुपयोगलाई राज्यपिच्छे आफ्नो संविधान वा विषयगत कानून अथवा कतै-न-कतै कानुनकाे कुनै अंशमा समेटेर लेखिएको हुन्छ। नेपाली सन्दर्भमा, राष्ट्रिय झण्डाकाे विषयलाई नेपालको संविधानको भाग १ को धारा ८ मा उल्लेख गरिएको छ । संविधानको उक्त धारा अनुसार, ‘ सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भई दुई त्रिकोण अलिकति जोडिएको माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो’ भनी उल्लेख गरिएको छ । साथै, संविधानको अनुसूची अनुसूची १ मै नेपाल झण्डा बनाउने तरिका र तत्सम्बन्धी अन्य विवरण मज्जाले व्याख्या गरिएको छ। त्यसो त, झण्डाकाे विषय संविधानको भाग १ र प्रारम्भिक खण्डमा राखिनु र झण्डा बनाउने तरिका र सो सम्बन्धी अन्य विवरण पनि अनुसूची १ मै राखिनुबाट पनि झण्डाकाे संवैधानिक महत्व र सार्वभौम गरिमा प्रष्ट हुन्छ ।
धारा ८ उल्लेख गरिए अनुसार झण्डामा प्रयोग गरिने रंग, साङ्केत, चिन्हको विशेष अर्थ र प्रतीक हुन्छ ।
यसो हुँदा झण्डा राज्यले प्रयोग गर्ने सामान्य पहिचानयुक्त संकेत वा चिन्ह मात्र पनि हैन । सिम्रिक रंगको सट्टा कलेजो रातो र गाढा नीलोको सट्टा आकाशी नीलो रङ्गको संयोजनले नेपालको राष्ट्रिय झण्डा बन्दैन। त्यसैगरी, खुर्पे चन्द्रमा आठ कोण नदेखिएर १० वा ११ कोण देखिएमा, सूर्य र चन्द्रमाको कोणहरु बराबर नभएमा त्यो झण्डा नेपालको झण्डा हो भन्न पनि प्राविधिक एवम् गणितीय हिसाबले मिल्दैन। झण्डाकाे प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने प्रयोजनार्थ राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ अस्तित्वमा छ । कार्यविधिले राष्ट्रिय झण्डाको कुन कुन सन्दर्भमा कसरी प्रयोग गरिन्छ र गर्नुपर्छ भन्ने स्पष्ट उल्लेख गरेको छ। यतिसम्म कि झण्डाकाे प्रयोगलाई मर्यादित बनाउन सरकारी कार्यालयमा एउटै भवनभित्र एक भन्दा सरकारी भवन रहेको खण्डमा समेत एउटा भन्दा झण्डा प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ ।
झण्डाको विषयलाई कानुनी र प्राविधिक हिसाबले बाहेक अलि बृहत् रूपमा राष्ट्रवादको दृष्टिकोणबाट हेरिनुपर्छ । हुनत: झण्डा मात्र होइन, राष्ट्रिय गान, राष्ट्रिय भाषा लगायतका कुराहरू पनि राष्ट्रियता र राष्ट्रवादको सन्दर्भमा उत्तिकै महत्त्व राख्ने विषयहरू हुन्। यी कुराहरू राष्ट्रसँग दस्तावेजमा त जोडिन्छन् नै नागरिक र राष्ट्रबीचको सम्बन्ध कायम गर्ने हिसावले भावनात्मक रूपमा पनि बलियोसँग जोडिएका हुन्छन् । राष्ट्रिय झण्डालाई हरेक नागरिकले आफ्नो मान्नु भनेको राज्यभित्र कायम एकता र अखण्डताको पहिचान साझा गर्नु हो भन्ने बुझ्नुपर्छ। विविधताभित्रको एकता छ भन्ने बुझिनुपर्छ। यो नेपाली हुनुको साझा पहिचानको विम्ब वा प्रतीक हो । राष्ट्रिय झण्डा, गान जस्ता कुराहरूले नेपाल भनेर मानिएको भूगोलभित्र बसोबास गर्ने सबैबीच आत्मिय सम्बन्ध छ है भन्ने बुझाउँछ । राष्ट्रवादी आँखाबाट हेर्दा झण्डालाई राज्यभित्रको अनेकता -जसमा विभिन्न जात, जाति, भाषा, धर्म, भूगोलमा बसोबास गर्ने नागरिकहरूबीच ‘नेपाली’ भनी कहलाउनुको सम्बन्ध स्थापित गर्ने सूत्राधारको लिने गरिन्छ ।
त्यसैले, कानूनी र प्राविधिकभन्दा फरक दृष्टिकोणबाट हेर्दा, झण्डा लगायतका राष्ट्रिय पहिचान स्थापित गर्ने यस्ता वस्तुहरुको प्रयोगले राज्य र नागरिकको सम्बन्ध कस्तो छ त? राष्ट्रियताको अवस्था कस्तो छ त? भनेर बुझ्न मद्धत पुग्छ। विचार गरौँ त, राष्ट्रिय गान बज्दा गर्विलो महशुस हुन्छ कि हुँदैन? उठ्न मन लाग्छ कि लाग्दैन? नेपालको झण्डा देख्दा खुशी वा गर्व महसुस हुन्छ कि दुःख लागेर आउँछ? आफ्नो भाषा बोल्दा, सिक्दा, लेख्दा रमाइलो लाग्छ कि बेकार हो जस्तो लाग्छ?
त्यसैले, यी विषय कानुनी अथवा प्राविधिकभन्दा पनि नितान्त राष्ट्रवाद, नैतिकता, नागरिक चेतना र नागरिकको ग्रहण गरेको सामाजिक मूल्य एवम् राष्ट्रप्रतिको वैयक्तिक भावनासँग जोडिएका विषयहरू हुन्।
तर, कुनै पनि किसिमको भावना र विषयप्रतिको धारणा विकास यत्तिकै हुन्छ र ? के यसका लागि खास चेतना, सन्दर्भ, समय र सोचसँगै निर्माण – विनिर्माण र पुनर्निर्माण हुँदै जाने हैन र ?
आउनुहोस् एकछिन विचार गरौँ ।
अहिलेको विश्वजगतलाई हेर्दा, एकातिर संसारका अधिकांश राज्यहरू (खासगरी विकसित भनिएका) ले उग्र-राष्ट्रवादकाे विषयलाई बढावा दिँदै आएको देखिन्छ भने अर्कोतर्फ सूचनाप्रविधि र अन्तरदेशीय आप्रवासनले गर्दा ज्ञान, प्रविधि. भाषा, संस्कृति, रहनसहनको सटासाटमा भएको बढोत्तरीले संसार झन् खुकुलो र सजिलो भए जस्तो लाग्छ। उग्र राष्ट्रवादी चेतको अस्वाभाविक उदयसंगै देश – देशबीचकाे सम्बन्ध अर्थ-राजनीतिक तहमा सङ्कुचित हुँदै गएको तर नागरिकस्तरमा भने झन् झन् खुकुलो व्यापक हुँदै गएको जस्तो देखिन्छ।
यस्तो अवस्थामा, राष्ट्रिय झण्डाकाे प्रयोग, उपयोग वा दुरुपयोगको विषय नेपालको लागि मात्र होइन विश्वव्यापी रूपमा पहिलेजस्तो नितान्त सरकारी चिन्ह वा संकेत, राज्यप्रदत्त इजाजतकाे आधारमा मात्र प्रयोग गर्ने, राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र मर्यादाकाे विषय नरहेको जस्तो देखिन्छ । झण्डाको विषय राष्ट्रिय व्यवहारमा मात्र सिमित नभई आम मान्छेको जीवनपद्धतिसँग जोडिएको छ। मोबाइलको किबोर्डमा झण्डाको ईमोजी भेटिन्छ। डिजिटल/ग्राफिकल हिसाबले त जहाँ, जसरी, जसले पनि झण्डा बनाएर इन्टरनेट वा डिजिटल दुनियाँमा प्रयोग गर्न सक्ने अवस्था देखिएको छ । नेसन ब्रान्ड (मेड इन नेपाल) को हिसाबले पनि झण्डाको प्रयोग गरेर विभिन्न माध्यममा प्रचार गरेको पाईन्छ र गर्न कानूनले वाधा नै गरेको पनि छैन ।
झण्डाबाट प्रेरित भएर भन्दै विभिन्न किसिमका मर्चेन्डाइज डिजाइन गरेर प्रयोग भइरहेका पनि छन् । पछिल्ला समयमा दुबईकाे फ्ल्याटमा लगानी गर्न गरिएको इन्टरनेट प्रवर्धित डिजिटल प्रचार सामग्रीहरुमा नेपालको झण्डा छ्यापछ्याप्ती प्रयोग भएको पाइन्छ। विदेशी भूमिमा रहेको विदेशी सम्पत्तिमा लगानी गर्नका लागि आकर्षित गर्ने व्यापारिक विज्ञापनमा नेपालको झण्डाको प्रयोग हुनुहुन्थ्यो वा यो अभ्यास गलत हो, पक्कै चर्चा हुन्छ होला । तथापि, झण्डा प्रयोगको सीमा र मर्यादाको विषयमा एउटा नैतिक सीमांकन आवश्यक भइसकेको भने पक्कै देखिन्छ ।
झण्डालाई विभिन्न आकारमा र्याली, समारोह र पर्व एवम् उत्सवहरुमा प्रयोग गरिन्छ। यस्ता विषयलाई समकालीन समाजमा स्वाभाविक र सामान्य मानिएका छन्। विदेशमा रहेका मानिसहरूले आफ्नो देशको पहिचानसँग सम्बन्धित (सगरमाथा, बुद्ध, झण्डा जस्तै) मर्चेन्डाइज खरिद गर्न रुचाउँछन्। कार्यक्रम, चाडपर्वहरूमा झण्डा अथवा झण्डाबाट प्रेरित मर्चेन्डाइज प्रयोग गर्न चलन पनि बढेकै छ। यस्तै इच्छाबाट सिर्जित मागलाई व्यवसायीहरूले सहज उपलब्धता सुनिश्चित गरेर व्यापार गर्ने मौका बनाएका हुन्छन्। आर्थिक दृष्टिबाट हेर्दा राष्ट्रवादको मनोविज्ञानलाई मौद्रिकीकरण गर्न झण्डा जस्ता राष्ट्रिय पहिचान बोकेका सामग्रीको प्रयोग गर्नु अनुपयुक्त भने होईन ।
व्यावसायिक कर्पोरेसनहरूले राष्ट्रिय खेलकुदको बेला, वर्ल्डकप जस्ता विश्वस्तरका खेल प्रतियोगिताहरूमा विभिन्न देशका झण्डाहरूलाई सजावटमा, समर्थकहरूलाई आत्मीयता महसुस गराउन अनुहारमा चित्र बनाएर प्रचार–प्रसार र समर्थन प्रदर्शन गर्नका लागि प्रयोग गरेको पाईन्छ। त्यस्तै, विभिन्न पर्यटकीय स्थलहरूमा घुम्न आउने पर्यटकले स्मरण स्वरूप लिएर जानको लागि तयार गरिएका सुभिनियर, टोकनहरूमा पनि सो देशको झण्डा अंकित भएको, अथवा झण्डाबाट प्रेरित मर्चेन्डाइज बनाइएको पाईन्छ। यो पनि झण्डासँग जोडिएको भावनात्मक पक्ष नै हो।
हुन त भावना उही हो- आफ्नोपन, पहिचान र गौरवको; तथापि, इतिहासको आलोकबाट हेर्दा झण्डा प्रयोगकाे तरिका समयक्रमानुसार परिवर्तन भएको छ।
धेरैहदसम्म विदेशमा रहने नागरिकले आफ्नो देशप्रतिकाे प्रेम, सम्बन्ध र सामीप्यता दर्शाउन; आफ्नो मूल र पहिचान सम्झिराख्न र नेपाली मूलवासीहरुको समुदायमा एकता बनाइराख्न पनि झण्डाको प्रयोग गर्ने गर्छन्। राज्यलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न र प्रस्तुत गर्ने सन्दर्भमा डायस्पोराले झण्डाको प्रयोग कसरी गर्ने भन्ने विषय पनि महत्त्वपूर्ण भएर आउँछ। त्यसैले पनि अघिनै उल्लेख गरेझैं झण्डाको उपयोगलाई कानुनी हिसाबले अथवा राज्यको सम्मानसँग मात्र जोडेर हेर्न गाह्रो हुँदै आएको छ । संभवतः राष्ट्रियताको सम्बन्धमा आएको परिवर्तित बुझाइसँगै यो विषय पनि परिवर्तन हुँदै गएको हुनसक्छ। अमेरिकामा विभिन्न देशबाट आएर बसोबास गरेका नागरिकहरूले घरमा अमेरिकाको झण्डासँगै आफ्नो मुलुकको झण्डा पनि राखेका हुन्छन्।
प्रवासी नेपालीहरूले पनि आपनो घर वा आफुले स्थापित गरेको व्यवसायिक स्थलमा नेपालको पनि झण्डा राख्ने गरेको देखिन्छ ।
यसर्थ पनि झण्डाको प्रयोगको विषयले आज पनि उही पुरानै मर्म समात्छ। तर, अहिलेका दिनमा जसरी झण्डाको प्रयोगलाई सामान्यीकरण गरिदैछ परम्परागत रूपमा झण्डा प्रयोगको विषय यति सजिलै लिन सकिने अवस्था थिएन। किन झण्डा राष्ट्रिय पहिचान संकेत मात्र हैन ?, झण्डाप्रतिको गाम्भिर्यताको के हो ? यसको मर्यादा र यसप्रति गाम्भिर्यताको विषयमा चर्चा गरौँ।
झण्डा कुनै कम्पनीको ब्रान्डको रूपमा सामान्य वस्तुजस्तै प्रयोग गर्नेभन्दा पनि राष्ट्रिय संस्कारयुक्त औपचारिक सभा, समारोहमा प्रयोग गरिने विश्वव्यापी प्रचलन छ ।त्यसैले पनि यसलाई सम्मान र गौरवको प्रतीक मानिन्छ। राष्ट्रिय दिवसहरूका समारोहमा, उत्सव, विशेष कार्यक्रम, विशेष अतिथिको सम्मान, स्वागत सत्कारको समयमा, अन्तर्राष्ट्रिय सभा, सम्मेलन, बैठकहरूमा प्रयोग हुने भएकाले यसको महत्त्व र गम्भीरता रहेको हो।
तर, झण्डाप्रतिको सम्मान र संवेदनशीलता झण्डाको वस्तुगत गुण/ चरित्रका कारणले भन्दा पनि यसलाई प्रयोग गरिएको स्थान, समय र प्रयोजनले निर्धारण गर्दछ ।
यो त अहिले पनि छँदै छ।
अहिले पनि फरफराइरहेको झण्डा देख्दा गौरव र सम्मानको भाव जाग्छ। अहिले पनि फरफराइरहेको झण्डाअगाडि उभिएर फोटो खिच्ने नागरिकहरुले अरु फोटोमा भन्दा छाती अलिकति चौडा पारेकै हुन्छन्। त्यसोत राष्ट्रिय झण्डासँग जोडिएको संवेग/मनोविज्ञान र अनुभूतिलाई राजनितिक लाभका लागि प्रयोग गर्ने अभ्यास संसारभरी बढेको छ । नेपालमा पनि यो अभ्यास बढ्दो छ । राजनीतिक सभा सम्मेलन, जुलुस वा आमसभामा पहिले पनि छिटपुट प्रयोग गर्ने गरिएको राष्ट्रिय झण्डा हिजो आज बग्रेल्ती प्रयोग गरिन्छन् । पछिल्लो समयमा भएको जेन्जिको प्रदर्शनका क्रममा पनि राष्ट्रिय झण्डा ओढेर, गलबन्दी जसरी बेरेर सभ्य समाजको आदर्श लोकतान्त्रिक संस्थाहरू न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा आगो लगाईयो ।
राज्यको अस्तित्व मान्ने र स्वीकार्ने कुनै पनि अवस्था र व्यवस्था भएको समाजमा यो कर्मको आवश्यकता पुष्टि गर्ने तर्क भेटिन्नन् । हुनत, तर्क गर्नेहरूले राष्ट्रमा सुशासन कायम गर्न, लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नका लागि ती संस्थाहरू माथि गरिएको विध्वंस र आगजनी स्वाभाविक भएको पनि भनेका छन् । यसको बारेमा भविष्य बोल्छ होला । तर, यस्ता प्रकारका अराजक कार्य गर्दा राष्ट्रिय स्वाभिमानको प्रतीक, सार्वभौमिकता र एकताको संकेत मानिएको झण्डाकाे प्रयोग वा दुरुपयोगको गहिरो मनोवैज्ञानिक निहितार्थ छ ।
अराजक प्रदर्शन र राजनीतिक दलहरुले गरेको सभा सम्मेलनमा राष्ट्रिय झण्डाको प्रयोग गर्नुको पछाडि गहिरो मनोवैज्ञानिक दर्शन र प्रतीकात्मक स्वार्थ लुकेको छ । मनोविज्ञानको प्राज्ञिक आलोकबाट हेर्दा यस्तो प्रकारको कार्यलाई ‘एसोसिएटीभ लार्निङ’ काे सिद्धान्तमा आधारित कार्य भन्न सकिन्छ । सबैले बुझ्नेगरी भन्दा, जव तपाई कुनै नयाँ वस्तु, तथ्य, धारणा, वा सिद्धान्तहरूलाई स्थापित गर्न चाहनुहुन्छ, त्यस्तो बेला तपाई पहिलेनै अस्तित्वमा भएको विषय वा सिद्धान्तसँग जोडेर र सम्बन्ध कायम गरेर बुझाउने प्रयत्न गर्नुहुन्छ । यसरी नयाँ विषयलाई क्रमश पुरानै तर जड विषयसँग जोडेर व्याख्या गर्ने प्रयत्न गरिन्छ । यसरी राष्ट्रिय झण्डालाई आफ्नो दल/समूहको झण्डासँगै प्रयोग गर्नु, राम्रा वा नराम्रा जस्ता सुकै काम गर्दा बोक्नु, घाँटीमा बेर्नुले त्यो कार्यलाई हेर्ने राष्ट्रवादी दृष्टिकोण प्राप्त हुन्छ। एक किसिमको मनोबैज्ञानिक स्वीकृती र बैधानिकता प्राप्त हुन्छ ।
अझै सरल शब्दमा भन्दा, जब कुनै राजनीतिक दलले आफ्नो दलको झण्डासँगै राष्ट्रिय झण्डालाई राख्छ, आम मानिसको मस्तिष्कले अनौपचारिक रुपमा राष्ट्रप्रतिको सम्मान र श्राद्धलाई उक्त दलप्रति स्थान्तरण गर्छ। मनोविज्ञानको भाषामा यसलाई भावनाको स्थानान्तरण पनि भनिन्छ । जस्तो कि जेन्जी प्रदर्शनमा पछाडिपट्टि जलिरहेको सिंहदरबार र संसद भवन राखी अगाडि नेपाली झण्डा फरफराई पृष्ठभूमिमा ‘ म नेपाल हाँसेको हेर्न चाहन्छु ….’ भन्ने जस्ता संगीत भरेर सामाजिक सञ्जालमा छ्याप-छ्याप्ती राखियो, मानौ सबै सहि भयो, ठुलो विजय भयो । यस्तो प्रकारको भिडियोले आम मानिसहरु माझ गम्भीर राष्ट्रिय संकटको अवस्था प्रतिबिम्बित गर्ने भन्दा पनि विजयोत्सवको संवेगात्मक चेतले साझा गरे, धारणा निर्माण गरे ।
यसर्थमा, मानिसमा भएको सञ्ज्ञान्त्मक चेतको सिमिततालाई मनोवैज्ञानिक औजारको रूपमा राष्ट्रिय झण्डा मार्फत आफ्नो हितमा प्रयोग हालैका दिनहरुमा पर्याप्त र यत्रतत्र भएको देखिन्छ । निर्वाचन नजिकिदै गर्दा यसको प्रयोग फेसनको रुपमा गरिएको छ ; त्यसोत निर्वाचन सम्बन्धी आचारसंहिताले दलका कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोगको सिमिततालाई बन्छित सीमामा राख्न खोजेको देखिन्छ । संहिता अनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेगह्त वा जुनसुकै प्रकारको र्-याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन हनुने व्यवस्था गरेको छ; तथापि केहि दलहरुले आफ्ना राजनीतिक कार्यक्रममा राष्ट्रिय झण्डाको अध्याधिक प्रयोग मार्फत आफुलाई मात्र राज्यको वैध प्रतिनिधिको रूपमा चित्रित गर्न खोजेका हुन कि भन्ने देखिन्छ । मनोविज्ञानले यस्तो रणनीतिलाई मनोबैज्ञानिक कब्जा (इमोशनल हाईज्याकिङ) र नैतिक कवच (मोरल शिल्डिङ) निर्माण सम्बन्धी कार्य मान्दछ । यसले राष्ट्रवाद तथा झण्डा प्रतिको निरपेक्ष निष्ठा र सम्मान विस्तारै घट्दै जाने खतरा हुन्छ।
झण्डाको अर्को अमर्यादित प्रयोग विमानस्थलमा विदेश जान लागेका नेपालीहरुको गलामा देखिन्छ । प्रत्येक दिन करिव २ हजार नेपालीले देश छोड्छन् । रहरले थोरै र धेरैले बाध्यताका कारणले मुलुक छोड्छन् । अनौठो कुरा के भने, जो रहरले देश छोड्दैछन् तिनको घाँटीमा सबैभन्दा बढी नेपालको झण्डा भएको देखिन्छ । बाध्यताले जानेको घाँटीमा न झण्डा हुन्छ र देखावटी राष्ट्रवाद । राज्यमा सबैभन्दा बढी पैसा पठाउने वर्ग, राज्यकोषलाई हराभरा गराउने वर्गलाई विमानस्थलमा छोड्दा झण्डा लगाईदिने कोही हुँदैन ।
जसको फर्किने-नफर्किने ठेगान छैन, जसले कमाएको सबै उतै राख्छ, उतै निवेश गर्छ वा खर्च गर्छ ( विद्यार्थी वा उच्च सीप भएका कामदार) त्यसखाले वर्गले झण्डा बेरेको हुन्छ । त्यसरी झण्डा ओढेर विदेश गएकाहरुले भन्दा अन्य मुलुक (खाडी, मलेसिया, भारत लगायत) मा रोजगारीमा गएकाहरुले राज्यको ढुकुटीमा पुर्याएको योगदान बढी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस अर्थमा झण्डा बोक्दैमा वा ओढेर हिँड्दैमा राष्ट्रवादी हुने भन्ने हैन रहेछ भन्ने एउटा तर्क हुन सक्छ ।
त्यसैले पनि यहाँनिर झण्डामा निहित सम्मान, प्रतिष्ठा, राष्ट्रियता, सर्वाभौकता केमा रहेको हुन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ। झण्डामा प्रयोग हुने रङमा ? झण्डामा अंकित चित्रमा ? झण्डाको प्रयोग गर्नेहरुमा ? कि जेमा पनि हुन्छ? यी प्रश्नहरूको एकल उत्तर पाउन गार्हो छ ।
यिनको उत्तर सन्दर्भ, समय, र परिवेशले व्याख्या गर्छ।
जहाँ पनि हुन सक्छ वा केहीमा पनि नहुन सक्छ। किनभने झण्डाको विषय कानून र तर्कभन्दा पनि भावनासँग सम्बन्धित विषय हो। मनमा नै राष्ट्रप्रति माया छ भने झण्डाप्रतिको सम्मान पनि मनमै कायम रहन्छ, उचालेर, झुकाएर, फहराएर देखाउनु पर्दैन।
कुनै समयमा शहीद भएर, सरकारी सेवा, सेना वा पुलिसमा जागिर गरेर मात्र राष्ट्रसेवक कहलाईन्छ, आफ्नो राष्ट्रिय पोसाक लगाएर, अथवा आफ्नै भाषा बोल्दा मात्र राष्ट्रियता झल्किन्छ भन्ने पुरातन भाष्यहरू आहिले विस्तारै धूमिल हुँदै गएका छन्। “चौबन्दीमा पटुकी लगाएको छैन भन्दैमा नेपाली होइन भन्न पाइँदैन” भन्ने गीत निकै प्रसिद्ध भएको थियो। कसरी नेपाली भईन्छ वा काहलाईन्छ भन्ने पहिचान अब कुनै एउटा कुरामा सीमित छैन। हरेक नागरिकले आफ्नो हिसाबले नेपाली हुनु भनेको के हो भनेर परिभाषित गर्न सक्छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना भोटरहरूलाई रिझाउन चीनप्रति कडा अभिव्यक्ति दिने र मेक अमेरिका ग्रेट अगेन भन्दै प्रचार-प्रसारमा समिल हुँदा उनले प्रयोग गरेको टी-सर्ट चीनबाट बनेर आएको भन्ने विषय हास्यास्पद बनेको थियो। त्यसैले आजको राष्ट्रवाद निरपेक्ष रुपमा स्वाधीन र स्वतन्त्र छ भन्न सक्ने अवस्था छैन ।
अबका दिनमा राष्ट्रियतालाई भूगोलको सिमा र शाशनको सार्वभौमिकताको शास्त्रीय सिमाको सङ्कुचन भन्दा पनि एकदमै बृहत् दृष्टिबाट हेर्न जरुरी भएको छ। त्यसैगरी झण्डालाई पनि। देशले आर्थिक उन्नति-प्रगति हासिल गर्दै समग्र आर्थिक विकास गर्दै लग्दा नागरिकका हक–अधिकार सुनिश्चित हुन थालेपछि आफ्नो देशप्रति माया स्वाभाविक रुपमा बढिहाल्छ।राष्ट्रवादीको मुखुण्डो ओढ्न झण्डाको सहारा लिईरहन पर्दैन। गरिबी, बेरोजगारी, दमन, दोहनसँग जुध्नुपर्दा नागरिकको मनमा व्यक्तिगत हिसाबले आफ्नो गाउँ-ठाउँप्रति माया भएतापनि राज्यको संयन्त्र, व्यवस्थाप्रति विश्वास, सम्मान, आदर विस्तारै हराउँदै जान्छ। यस्तो अवस्थाको भरपाई न झण्डाले गर्न सक्छ, न राष्ट्रिय गानले, न त भाषाले वा राष्ट्रिय पोसाकले नै।
(लेखकद्वयको यस लेखसम्बद्ध विचार निजि हुन् )







