काठमाडौँ । जेन जि मुभमेन्ट अलाएन्सले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशिला कार्कीलाई धन्यवाद दिँदै जेन जि आन्दोलनसँग सम्बन्धित घटनाबारे गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
अलाएन्सले फाल्गुन २१ गते सार्वजनिक गरेको खुला पत्रमार्फत देशलाई संक्रमणकालीन अवस्थाबाट शान्तिपूर्ण र भयरहित तवरले निर्वाचन सम्पन्न गराई संवैधानिक मार्गमा फर्काउन सफल भएको भन्दै प्रधानमन्त्री कार्कीको नेतृत्वको प्रशंसा गरेको हो।
खुला पत्रमा निर्वाचन हुँदैन भन्ने विभिन्न संशय र बाधाका बीच पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्कीले देखाएको दृढ नेतृत्वको प्रशंसा गर्दै इतिहासले त्यसलाई सम्मान गर्ने उल्लेख गरिएको छ।
अलाएन्सले प्रधानमन्त्री कार्कीको एउटा प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु भए पनि न्यायप्रतिको प्रतिबद्धताको परीक्षा अझै बाँकी रहेको जनाएको छ। “न्यायको मूर्तिका रूपमा स्थापित तपाईँको छविको सबैभन्दा ठूलो परीक्षाको घडी अब आएको छ,” खुला पत्रमा उल्लेख छ।
अलाएन्सका अनुसार जेन जि आन्दोलनका क्रममा ज्यान गुमाएका बालबालिकाका अभिभावक, घाइते तथा पीडितहरू न्यायको पर्खाइमा रहेका छन्। उनीहरूले विधिको शासन स्थापित गर्न कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरी घटनाको सत्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
जेन जि मुभमेन्ट अलाएन्सले जेन जि जनआन्दोलनप्रतिको पहिलो उत्तरदायित्व पूरा गर्दै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री कार्कीलाई खबरदारीपूर्ण तर विनम्र अनुरोध गरेको जनाएको छ।
खुला पत्रको अन्त्यमा “फाल्गुन २१ को बधाइ, हामी फाल्गुन २२ को पर्खाइमा छौँ” उल्लेख गर्दै आन्दोलनसँग सम्बन्धित घटनाबारे सत्य सार्वजनिक हुने अपेक्षा व्यक्त गरिएको छ।








