काठमाडौँ । डोटीमा मतगणना सुरु भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर १ सिमचौर, २ केदार अखडा, ३ कानाचौर र ४ सातफरीबाट मतगणना सुरु भएको छ।
चारवटा वडाका मतदान केन्द्रका बाकसहरू खोलिएका छन्। सर्वदलीय बैठकबाट ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भए पनि करिब दुई घण्टा ढिलो गरी सुरु भएको छ।
बोगटान फुड्सिलको वडा नम्बर १ मा ६७१ मत खसेको थियो भने वडा नम्बर २ मा ३५१ मात्रै मत खसेको हो । वडा नम्बर ३ मा ३४५ मत खसेकोमा वडा नम्बर ४ मा ६२६ मत खसेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको चार स्थानबाट छुट्टाछुट्टै मतगणना सुरु भएको हो। चार ठाउँबाट मतगणना भइरहेकाले जिल्ला भरीको छिट्टै मत परिणाम आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। डोटीमा जम्मा ४०.८८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्ला भरी ५२ हजार चार सय ८५ मत खसेको छ ।
डोटीमा महिलाको ३१ हजार नौ सय दुई मत र पुरुषको २० हजार पाँच सय ८३ मत गरी जम्मा ५२ हजार चार सय ८५ मत खसेको छ।







