काठमाडौँ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आम निर्वाचन २०८२ मा प्राप्त जनादेशको सम्मान गर्दै विजयी उम्मेदवारहरूलाई बधाई दिएका छन्।
रास्वपाका उम्मेदवार विपिन कुमार आचार्यलाई बधाई दिँदै उनले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ जनताले अभिमत दिएको बताएका हुन् ।
जनविश्वास अनुसार अगाडि बढ्न भावी प्रधानमन्त्री बालेन्द्र साहलाई उनले शुभकामना दिएका छन् । पोखरेलले फेसबुकमा लेख्दै भनेका छन्, ‘‘जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना।’
निर्वाचनमा क्षेत्रमा खटिएका पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरूलाई पनि धन्यवाद दिँदै भनेका छन्, ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन। अभियानमा जुट्नुहुने सबैलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद।’







