काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ।
बैठक पार्टी सभापति गगन थापाको अध्यक्षतामा दिउँसो करिब सवा दुई बजेदेखि सञ्चालनमा रहेको जनाइएको छ।
यसअघि सोही दिन पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक सम्पन्न भएको थियो, जसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो।
आजको कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठन गरिएको अध्ययन समितिले तयार पारेको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ।
उक्त समिति जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अध्ययन गरी सुझावसहित निष्कर्ष तयार पार्न गठन गरिएको थियो।
उक्त अध्ययन प्रतिवेदनको आधारमा पार्टीले आयोगको प्रतिवेदनप्रति आफ्नो आधिकारिक धारणा तय गर्ने तयारी रहेको जनाइएको छ।







